काठमाडौं- सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीच छलफल केहीबेरमा सुरु हुने भएको छ ।
एमाले नेताहरुसँग छलफलका लागि नेपाली कांग्रेसका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका छैनन् ।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनका लागि नेपाली कांग्रेसले प्रमुख विपक्षी दल एमालेको साथ खोजेको छ ।
तर एमालेले आफूले गत साउनमा १४ सांसदलाई गरेको कारबाहीलाई संसदले मान्यता दिनुपर्ने अन्यथा सभामुखलाई नै हटाउनुपर्ने अडान राख्दै आएको छ ।
सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसीसी सम्झौता अनुमोदनमा तयार नभएपछि कांग्रेसले एमालेसँगको छलफललाई तीव्रता दिएको छ ।
छलफलमा प्रधानमन्त्री देउवासहित कांग्रेस नेता तथा सञ्चारमन्त्री कार्की, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी भएका थिए। एमालेबाट अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी थिए।
शुक्रबारको छलफलमा ओलीले देउवासँग पहिले प्रतिनिधि सभामा प्रवेश गर्ने वातावरण बनाउन सुझाव दिएका थिए।
ओलीले देउवासँग एमाले र कांग्रेस संघर्षबाट स्थापित लोकतन्त्रका सहयात्री भएको जिकिर गर्दै लोकतान्त्रिक मूल्य–मान्यतामा एक ठाउँमा उभिन आवश्यक रहेको पनि बताएका थिए।
एमसीसी अनुमोदनका लागि कांग्रेसका तर्फबाट भूमिका निर्वाह गरिरहेका एक नेताले आगामी सोमबारसम्म एमसीसी पारित गराउने गरी पहल भइरहेको जानकारी दिएका छन्।