काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले वर्तमान सत्ता गठबन्धन कुनै पनि हालतमा भत्किनुपर्ने बताएका छन् ।
वर्तमान गठबन्धनको आधारमा अनैतिक प्रक्रियाबाट सरकार बनेकाले भत्किनुकाे विकल्प नभएकाे बताएका छन् ।
शनिबार काठमाडौंमा एमाले संवद्ध कानुन व्यवसायीको सम्मेलनलाई सम्बोधन गर्दै दुषित गठबन्धनका कारण देशमा थप अनैतिक र असंवैधानिक गतिविधि बढ्ने भएकाले भत्काउनुपर्ने नेम्वाङको तर्क रहेको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले भने, ‘वर्तमान सरकारको आधार तपाईहरुलाई थाहै होला । यो अनैतिक रुपमा परमादेशबाट बनेको छ । यसको आधार वर्तमान दुषित गठबन्धन हो । त्यसैले यो गठबन्धन भत्किनुको विकल्प छैन । हामी जस्तोसुकै अवस्थामा पनि गठबन्धन भत्काएर छोड्छौ ।’
नेम्वाङले एमालेको मुख्य उद्देश्य गठबन्धन भत्काउने भएपनि सरकारका जानका लागि गठबन्धन भत्काउने पक्षमा नरहेको धारणा राखे । उनले भने ‘अहिलेको हाम्रो एकमात्र लक्ष्य वर्तमान सत्ता गठबन्धन भत्काउनु हो । यसको मतलव यो होइन कि हामी सरकारमा जान गठबन्धन भत्काउँदै छौँ । हामी स्पष्ट छौं । वर्तमान जनमतको अर्थ छैन । त्यसैले यसै जनमतमा हामी सरकारमा जाँदैनौं ।’