काठमाडौं- सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी रहेको छ ।
बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल शनिबार साँझ छलफलमा जुटेका हुन् ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा एकमत नरहेको सत्ता गठबन्धनका नेताहरू पुन: एक पटक छलफलमा जुटेका छन् ।
कांग्रेस जसरी एमसीसी पास हुनुपर्ने पक्षमा छ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विषयमा फरक मत राख्दै आएका छन् ।
समाजवादीले आइतबार विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादीले बैठक बोलाउने तयारी गरेको छ । यदि शीर्ष तहमा सहमति जुट्यो र दलगत निर्णय भयो भने व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन हुन्छ र पाँचदलीय गठबन्धन पनि जोगिने नेताहरु बताउँछन् ।