काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीको विवाद अब सकिएको भन्दै गठबन्धन र सरकार अघि बढ्ने बताएका छन्।
आफ्नै निवास खुमलटारमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
‘एमसीसी परियोजनाको विषयलाई लिएर निकै ठूलो विवाद, अन्योल, बहस भए। सबैभन्दा माओवादी केन्द्र र नेतृत्वको हैसियतले ममाथि थुप्रै टिप्पणी पनि भए,’ उनले भने, ‘हिजोसम्म आइपुग्दा एउटा निकास दिइएको छ। यो नहुँदासम्म एउटा अन्योल थियो। अब गठबन्धन कायम रहन्छ। सरकार अघि बढ्छ। अब निर्वाचनको प्रक्रिया अघि बढ्छ।’
उनले सुरुमा आफ्नो पार्टीको नेतृत्वमा सरकार भएको बेलामा नै एमसीसीबारे छलफल, बहस सुरु भएको भन्दै पछिल्लो समय विवाद बढेको बताए।
‘नेकपाको सरकार भएको बेलामा विवादित हुन पुग्यो। एमसीसीलाई आईपीएसको अंग भनेर प्रचार गरियो। अमेरिकाका अधिकारीलगायतले पनि भने,’ प्रचण्डले भने।
तर, एमाले अध्यक्ष केपी ओलीले आफ्नो पुरानै अडान लिइरहँदा राष्ट्रिय सहमति कायम नभएको उनको भनाइ छ ।
सडकमा समेत नाराबाजी हुने भइरहेको अवस्थामा गठबन्धन विघटन हुनेदेखि सरकार परिवर्तनसम्मको खेल हुन थालेपछि संविधान नै डिरेलको अवस्थामा पुग्न थालेपछि एमसीसी अनुमोदन गर्न सहमति जनाएको प्रचण्डले बताए ।
संशोधन र परिमार्जन गरेर मात्र एमसीसी अनुमोदन गर्नुपर्ने आफूले बताउँदै आए पनि प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणापत्र जारी गरेर सदनबाट पारित गराउन माओवादी केन्द्रले सहमति जनाएको प्रचण्डले जानकारी दिए ।
भियाना सन्धिअनुसार पनि प्रतिनिधिसभाबाट घोषणा गरिएको अर्काे पक्षले स्वीकार्नुपर्ने देखिएकाले आफूले सहमति जनाएको भन्दै उनले एमसीसी सम्झौता अनुमोदन महाकाली सन्धिजस्तो नरहेको बताए ।
‘प्रतिनिधिसभाबाट घोषणा भएको अर्काे पक्षले स्वीकार्नुपर्ने र नस्वीकारे स्वतः खारेज हुने अन्तर्राष्ट्रिय कानुनका ज्ञाताको सुझाव आएपछि आफूले शीर्षनेताहरूमाझ राखेँ,’ उनले भने, ‘यसबारे काठमाडौंस्थित अमेरिकी दूतावासलाई पनि जानकारी दिएर अनुमोदन गरिएको हो ।’
अन्तर्राष्ट्रिय कानुनअनुसार मान्यता पाउने गरी संविधान, देशलाई बचाएर प्रतिनिधिसभा घोषणापत्र जारी गरेर एमसीसी अनुमोदन गरेपछि आफू खुसी भएको प्रचण्डको भनाइ छ ।