काठमाडाैं- नेकपा (माओवादी केन्द्र) भित्र दुई लाइन संघर्ष चर्किएको छ ।
व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने पार्टी लाइनको विपक्षमा रहेका नारायणकाजी श्रेष्ठसहित पूर्वएकताकेन्द्र समूहका नेताहरूले माओवादी पार्टीबाट विद्रोह गर्न सक्ने सम्भावना बढेपछि प्रचण्ड मंगलबार हात्तिवनस्थित नारायणकाजीको निवासमा पुगेका छन् ।
एमसीसी संशोधनबिना अनुमोदन गर्न नहुने पक्षमा श्रेष्ठ दृढ थिए । उनले सार्वजनिक रुपमै पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने बताएका थिए । तर, प्रचण्डले गठबन्धन जोगाउने नाममा कांग्रेससँग सम्झौता गरेको र व्याख्यात्मक घोषणा जारी गरेर एमसीसी पारित गराएको भनेर उनले आलोचना गरिरहेका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा पनि प्रचण्डले नारायणकाजीको नामै लिएर आलोचना गरेका थिए । उनले आफू कुन अवस्थामा एमसीसी पारित गर्ने पक्षमा पुगेको भनेर पनि लामै स्पष्टीकरण दिएका थिए । प्रचण्डले वरिष्ठ नेता श्रेष्ठतिर लक्षित गर्दै वामदेव गाैतम जसरी पार्टी छाडेर गए पनि आफूले रोक्न नसक्ने टिप्पणी गरेका छन्।
प्रचण्डले असन्तुष्टि आफ्नो विचार पार्टी केन्द्रीय समितिमा व्यवस्थित रुपमा राख्न भनेका छन्। आफूले असन्तुष्टि बाहिर नलैजान भने पनि नारायणकाजीले नमानेको पनि प्रचण्डले बताएका छन्।
‘नारायणकाजीलाई यति भनिदिएपछि, बोलिदिएपछि माओवादीका भएभरका कार्यकर्ता आफैंतिर आउँछ, केन्द्रित हुन्छन् भन्ने परेको हो’, प्रचण्डले भने, ‘जनता ह्वार्र मैतिर आउँछन् भन्ने ठानेर उहाँले सार्वजनिक रुपमै बोलिदिनु भएछ।’
एमसीसी पारित हुँदा पार्टीभित्र र संसद्मा समेत गिरिराजमणि पोखरेल, अञ्जना बिसंखे लगायतका नेताहरूले असहमति जनाएका थिए । श्रेष्ठ, लीलामणि पोखरेललगायतले पार्टीको बैठकमा असहमति जनाएका थिए । पूर्वएकताकेन्द्रका नेताहरूले जस्तै कृष्णबहादुर महरा, राम कार्की लगायतले पनि एमसीसी अनुमोदनको विरोध गरेका थिए । एमसीसीको विरोध गर्दै आएका देव गुरुङले भने पार्टी लाइनलाई समर्थन गरेको सोमबारको पत्रकार सम्मेलनमा बताए ।
युवा नेता लेखनाथ न्यौपानेले एमसीसी पारित गर्ने निर्णय अवैधानिक भएको र प्रचण्डको मात्रै निर्णय भएको बताएका छन् । अर्का केन्द्रीय सदस्य जीवन गौतमले पनि एमसीसी पारित गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । पूर्वएकताकेन्द्रका नेताहरूले माओवादीबाट विद्रोह गरेर अलग्गै पार्टी बनाउन श्रेष्ठमाथि दबाव दिइरहेका छन् ।