काठमाडाैं- एमसीसी सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा (माओवादी केन्द्र) भित्र दुई लाइन संघर्ष चर्किएको छ ।
व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका प्रचण्ड र एमसीसी पारित गर्न नहुने पक्षमा रहेका नारायणकाजी श्रेष्ठबीच दुई लाइन संघर्ष चर्किएको हाे।
पूर्वएकता केन्द्र समूहका नेताहरु एकतातिर उभिएको र पार्टीबाट विद्रोह गर्न सक्ने आकलनकाबीच प्रचण्ड मंगलबार हात्तिवनस्थित श्रेष्ठको निवासमा पुगेर छलफल गरेका थिए ।
भेटमा प्रचण्डले आफूले फरक परिवेशमा भनेका कुरालाई लिएर अन्या नठान्न र पार्टीमै बसेर छलफल गर्न श्रेष्ठसँग आग्रह गरेका थिए । श्रेष्ठले भने सोमबारको प्रचण्डको अभिव्यक्तिले झस्काएको बताएका स्रोतको भनाइ छ ।
‘तत्कालीन एमालेले महाकालीमा राष्ट्रघात गर्योल भनेर वामदेवजी पार्टी केन्द्रीय समितिको आधा लिएर जानुभयो । भोट आउने बेला जिरो भयो । त्यसैले एमसीसीमा कोही सेन्टिमेन्टमा आउँन जरुरी छैन । त्यसमा सबै स्पष्ट हुनु पर्छ ’ उनले भनेका थिए ।
प्रचण्डको यस्तो अभिव्यक्तिलाई पूर्वएकता केन्द्रका नेताहरुले पार्टीबाट छाडेर गए हुन्छ भन्ने अर्थमा लिएका छन् । नेता श्रेष्ठले पूर्व एकता केन्द्रका नेताहरुसँग परामर्श गरेको स्रोतको दाबी छ ।
‘सोमबार प्रचण्डले नारायणकाजी कमरेडलाई घुमाउरो भाषामा पार्टी छोडे हुन्छ भन्ने खालको भाषण गरेपछि उहाँ आफू निकटका नेता, कार्यकर्तासँग छलफलमा हुनुहुन्छ’ श्रेष्ठ निकट एक नेताले भने ।
‘यो विषयमा मतभेद कायम राखौं अरु कुरामा मिलेर जाऔं, पार्टी एकताबद्ध गर्नु अहिलेको आवश्यकता हो,’ भेटमा अध्यक्ष प्रचण्डले नेता श्रेष्ठसँग भनेका थिए । सोमबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले एमसीसीमा श्रेष्ठले गरेको विरोधमा असन्तुष्टि जनाएका थिए ।
‘हामी छुट्टिने निष्कर्षमा पुगेका थिएनौ, उहाँहरुले त्यो भनेपछि सोच्नुपर्यो नि,’ प्रचण्डसँगको भेटबारे उनले भने, ‘यद्यपि अहिले पार्टी रुपान्तरण हुन्छ कि हुन्न भन्ने कुरा उठेकै छ, राष्ट्रियतामा पनि पार्टी पुरानो अडान मा टिकेन पार्टीभित्र कार्यकर्ताताई समान ब्यवहार पनि भएको छैन भने त के गर्ने भन्ने कुरा उठेको छ ।’
यसैबीच, आगामी शुक्रबार माओवादीको केन्द्रीय कमिटीको बैठक बस्दैछ ।