काठमाडौं– नेकपा (एमाले) का सांसद भीम रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताएका हुन्।
उनले संसद् अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी गरे। सांसद रावलले देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षडयन्त्र भएको आशंका व्यक्त गरिन्।
‘यो त नेपाली जनताको जुन सार्वभौम अधिकारमाथिको खेलवाड हो। र, यो अत्यन्त गैरजिम्मेवार काम हो। किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रतिनिधिमार्फत् राष्ट्रको स्वाधिनता, स्वतन्त्रता, जनताको जीविकाजस्ता महत्त्वपूर्ण विषयमा छलफल होला, त्यसले निकास देला भनेर उनीहरुले अपेक्षा गरेका हुन्छन्’, रावलले भने, ‘संसद् भनेको देशमा उत्पन्न समस्याहरुको निकास दिने महत्त्वपूर्ण थलो हो। तर, जसरी खेलवाड गरिएको छ, देशको कार्यपालिका, व्यवस्थापिका संसद्, न्यायपालिका सारा अलपत्र गर्ने काम जुन गरिएको छ। नेपाल राष्ट्रलाई कमजोर बनाउने कतैबाट सुनियोजित खेल त भइराख्या छैन भन्ने कहिलेकाहीँ मनमा शंका लाग्छ।’