गोरखा- सरकारले ०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय ग¥याे । याे निर्णयसंगै जिल्लाका गाउँ-सहरमा स्थानीय तह निर्वाचनको महाेल सुरु भएको छ ।
गोरखामा सक्रिय करिब २० वटा राजनीति दलहरू छन् । गत स्थानीय निर्वाचनमा जिल्लामा विभिन्न १६ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिएका थिए । चार प्रदेश निर्वाचन क्षेत्र रहेको गोरखामा हरेक निर्वाचन क्षेत्रमा प्रदेशका सांसदको उपस्थिति बाक्लिदैं गएको छ ।
प्रदेश सरकारले ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’सहित विभिन्न नाममा सांसदले छानेका योजनामा बजेट दिन्छन् । आर्थिक वर्षको ७ महिनासम्म हात बाँधेर बसेका प्रदेश सरकार स्थानीय निर्वाचन नजिकिएको बेला धमाधम पैसा निकासा गर्न थालेका हुन् ।
केन्द्र सरकारले खारेज गरेको तर प्रदेश सरकारले निरन्तरता दिएको ‘निर्वाचन क्षेत्र विकास’को बजेट बोकेर गाउँ-नगरमा गोरखाका सांसद पुगेका छन् । सांसदहरूले ‘तजबिज’मा योजना छनोट गर्न पाउने गरी गोरखाका ११ स्थानीय तहका लागि प्रदेश सरकारबाट ८ करोड रुपैयाँ छुटाइएको छ ।
तर, प्रदेश सरकारले हरेक निर्वाचन क्षेत्रमा २ करोडका दरले दिएपछि गोरखाका प्रदेश सांसदले आफ्ना मतदाता केन्द्रित योजना हालेका छन् । बजेट स्थानीय तहमा खर्च हुने हो । योजना छनोट र कार्यान्वयनमा भने प्रदेश सांसदहरू हाबी छन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयकाका अनुसार सांसदहरूको योजनाका लागि फागुन पहिलो साता नै बजेट गइसकेको छ ।
गोरखा क्षेत्र न १ प्रदेश सभा ‘क’ का सांसद लेखबहादुर थापामगर छन् । उनी नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित सांसद हुन् । प्रदेश सभा ‘ख’ मा नेकपा (एमाले)बाट निर्वाचित सांसद हुन्- रामशरण बस्नेत ।
प्रतिनिधि सभा क्षेत्र न २ को प्रदेश सभा ‘क’ का सांसद हुन्- हरिशरण आचार्य । उनी तत्कालीन नयाँ शक्ति हालको जनता समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् । प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसबाट निर्वाचित सांसद प्रकाशचन्द्र दवाडी छन्। उनीसंगै समानुपातिकमा कांग्रेसबाट मनकुमारी गुरुङ र जसपाबाट धनमाया लामा (पोखरेल) प्रदेशका सांसद छन् ।
बजेट देखाउदैं पार्टी प्रवेश गराउँदै
माओवादीबाट निर्वाचित प्रदेश सांसद थापामगरले गण्डकी, सहिद लखन गाउँपालिका, गोरखा नगरपालिकाका केही वडामा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तरगत ३० योजनामा आर्थिक वर्षका लागि १ करोड ९४ लाख बराबरका योजना र कार्यक्रम छनौट गरिसकेका छन् । गण्डकीमा ९ योजनाका लागि ५७ लाख, सहिदका ९ योजनाका लागि ६० लाख र गोरखा नगरपालिका १२ योजनाका लागि ७७ लाख बराबरका योजना र कार्यक्रम छनौट गरेका हुन् । प्रदेश सांसद थापामगर भने बेखर छन् ।
प्रदेश निर्वाचन क्षेत्र न ‘ख’ का सांसद बस्नेतले भीमसेन थापा गाउँपालिकाका कुल १० योजना ६० लाख, आरुघाट गाउँपालिकाका ९ योजनामा ६२ लाख, धार्चे गाउँपालिकाका ९ योजना ५८ लाख र चुमनुब्री गाउँपालिकाका ३ योजनामा १८ लाखका छनौट गरेका छन् । तर, उनका योजना विशेष गरी धार्चे र आरुघाट केन्द्रित छ ।
उत्तरी गोरखाको पैदल मार्ग समेत अवरुद्ध भएको समयमा ती पैदल मार्ग सम्बोधन गर्न सांसद बस्नेत असफल भएका छन् । प्रदेश सांसद बस्नेतसमेत पछिल्लो समय गाउँघर चार्न थालेका छन् । धार्चेका विभिन्न गाउँ गएर गोरखा आएका बस्नेतले पछिल्लो समय मतदाता भेट्ने, कार्यक्रता फकाउदैं पार्टी प्रवेश गराउन थालेका छन् ।
निर्वाचन क्षेत्र न २ को प्रदेश सभा ‘क’ का सांसद हरिशरण आचार्यले गोरखा नगरपालिकाका १२ वटा योजनामा ७९ लाख र पालुङटार नगरपालिकाका १७ वटा योजनामा १ करोड १५ लाख बजेट छुट्टाएका छन् ।
चर्ज र आचार्य कुल मन्दिर निर्माण गर्न बजेट छुट्टाएका सांसद आचार्यले सबै भन्दा धेरै पालुङटार-९, को टासी छोइलीङ गुम्बा तथा तामाङ एकता समाज भवन निर्माणका लागि १८ लाख र गोरखा–१४ को हटीय बुढीकोटी मन्दिर सिँढी निर्माणका लागि १८/१८ लाख रकम छुटाएका छन् । प्रदेशका उर्जामन्त्रीसमेत रहेका आचार्य भने पालुङटार नगरपालिका विशेष योजनामा राजनीति गर्दै आएका छन् ।
बारपाक-सुलिकाेट केन्द्रित राजनीति गर्दै आएका प्रदेश सभा ‘ख’ का सांसद दवाडी विशेष गरी बारपाक-सुलिकाेट क्षेत्रमा नै सक्रिय हुन्छन् । उनले सांसद विकास काेषकाे बजेटसमेत बारपाक केन्द्रित योजनामा हालेका छन् । उनले सिरानचाेक गाउँपालिकाका ६ योजनाका लागि ३२ लाख, अजिरकाेट गाउँपालिकामा ४० लाखका ७ योजना र बारपाक-सुलिकाेट गाउँपालिकाका १७ योजनामा १ करोड १० लाख बजेट छुटाएका छन् ।
सांसद दवाडी विगत २ महिनादेखि निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा व्यस्त छन् । सांसद दवाडी कांग्रेसभित्र पैसाको आडमा राजनीतिमा आएको भन्दै चर्को आलोचना हुदैंसमेत आएको छ । उनीसंगै अजिरकाेट, सिरानचाेक र बारपाक- सुलिकाेटमा समानुपातिकका थप २ जना गण्डकी प्रदेशका सांसद छन् ।
गोरखाका सांसदहरू पछिल्लो समय मतदाता भेट्ने, प्रदेश सरकारका योजनाको अनुगमन गर्ने तथा त्यही योजना देखाउँदै पार्टी प्रवेशसम्म गरेका छन् । संख्यामा मात्रै पार्टी प्रवेश गरेका मतदातासमेत जता योजना आंउछ त्यतै लागेका छन् । सस्तो लोकप्रियताका लागि सांसदहरूले एक पुरी बिस्कुट देखि कम्मलसमेत वितरण गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
याे पनि,
सांसद आचार्यको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम : यी हुन् २९ योजना
प्रदेश सांसदकाे ‘बारपाक-सुलिकाेट माेह’ : १७ याेजनालाई १ कराेड १० लाख [योजना र बजेटको विवरणसहित]
निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम : सांसद बस्नेतले छानेका यी हुन् ३० योजना
निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम : यी हुन् सांसद थापामगरले छानेका ३० याेजना !