काठमाडौं– सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताएकी छिन् ।
मन्त्री झाँक्रीले अरु धेरै देशले सो सम्झौंता स्वीकार गरेको स्मरण गराउँदै ती देशहरुले कुरा नबुझेको हो त ? भनी एमसीसीका अजासुहरुलाई प्रश्नसमेत गरिन् ।
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विश्वका आधि दुनिँयामा एमसीसी लागू हुँदापनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाइन् ।
सरकारले स्वीकार गरेर ल्याएको एमसीसी अनुदान सहायता भएको उल्लेख गर्दै उनले त्यसलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने तर्क समेत दोहोर्याइन् ।
‘एमसीसी सरकारले स्विकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा डिबेट गरेर पास गरियो । अब हामीले गफ गरेजस्तै एमसीसी स्वीकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त ?’ उनले भनिन्, ‘त्यो हो भने त हामी भन्दा अर्को आधा दुनियाँ त हुन्छ भन्ने छ नि त । उनीहरुले के कुरा नबझुको हो ? हामी मात्रै सोभरेन्टीको लागि यति साहे चिन्तित भएको हो त ? त्यसो त नहोला ।’
मन्त्री झाँक्रीले एमसीसी संसदमा डिबेट भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहोर्याइन् । उनले महिला हिंसा अन्त्यका लागि तय गरिएको कानुन, नीति र कार्यक्रममा पनि परिमार्जन गरेर अघि बढनुपर्नेमा जोड दिइन् ।