काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् ।
कतिपय युवा नेताहरूले एमसिसीमा दाहोरो चरित्र देखाएको भन्दै माओवादी र एकीकृत समाजवादीका नेताविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि देउवाले नेताहरूलाई गठबन्धनका नेताको आलोचना नगर्न भनेका हुन् । गठबन्धन दलको चित्त दुख्ने गरी प्रस्तुत नहुन उनले निर्देशन दिएका हुन् ।
मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उनले गठबन्धनलाई असर पर्ने गरी गतिविधि नगर्न आग्रह गरेका हुन् ।
‘चुनावी प्रचारमा गठबन्धन विरोध कार्य नगर्नुहोला । कांग्रेसको पक्षमा माहोल बनाउनु होला’ उनले भने। कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
कांग्रेसमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्नेमा प्रष्ट धारणा नबनिरहेका बेला देउवाले गठबन्धनको विरोध नगर्न भनेका हुन् ।
संस्थापन चुनावी तालमेलको पक्षमा रहे पनि डा. शेखर कोइराला पक्ष भने चुनावी तालमेलको पक्षमा छैन । कांग्रेसलाई पहिलो नम्बरको पार्टी बनाउन पनि केही ठाउँमा चुनावी तालमेल गरेर जानुपर्नेमा देउवा रहेका छन् ।
उक्त अभियानको अन्तिम तयारीका लागि शीर्ष नेता सहितको बैठक केन्द्रीय कार्यालयमा बसेको छ । बैठकमा केही केन्द्रीय सदस्यले निर्णय प्रक्रियामा आफुहरुलाई समावेश नगरिएको भन्दै शीर्ष नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेका छन् ।