पोखरा– नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई ‘दशा लागेको’ टिप्पणी गरेका छन्। प्रचण्ड र नेपाल अहिले ढोका कुरेर बस्नुपर्ने अवस्थामा पुगेको पनि ओलीले टिप्पणी गरे।
पोखरामा आयोजित पार्टी निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल ‘जंगे’बाट ‘बुंगे’ बनेको टिप्पणी गरे।
‘हामीसँग झन्डै दुई तिहाइको सरकार थियो। तर प्रचण्ड र माधव नेपाललाई दशा लाग्यो। सरकार ढालेर गएर अहिले हेर्नुस् त बिचराहरु, ढोकाबाहिर पर्खेर बसेका हुन्छन्। भित्रबाट प्रसाद बाँड्न आउँछ कि भनेर। कताका जंगेहरु, कताका बुंगे भए अहिले। बुद्धि बिग्रिएपछि त्यो हुन्छ,’ ओलीले भने।
ओलीले जनादेशको मजाक उडाउने काम भएको पनि बताए। ‘जनादेशको मजाक उडाइएको छ। सेटिङमा काम भइरहेको छ। केपी ओलीको सरकार ढाल्नु नै पर्छ भनेर अनेक षड्यन्त्र भए। विकासका विरोधीले ढाले। जन निर्वाचित सरकार ढाल्ने काम भयो,’ ओलीले भने।