काठमाडौँ- सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अहिलेको महंगी सरकारको नियन्त्रणमा नभएको बताएकी छन्।
नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारणसभालाई शुक्रबार काठमाडौंमा सम्बोधनका क्रममा अहिलेको महंगीको दोष सरकारलाई लगाउन उचित नहुने बताइन्।
‘आजको महंगी हाम्रो नियन्त्रणमा छैन। रसिया युक्रेन युद्धको मात्रै असर होइन। खाडीमा तेलको भाउ पनि बढेको छ। विश्वभर आर्थिक मन्दी देखिएको छ। भारतको मुद्राको पनि अवमूल्यन भएको छ’, उनले भने, ‘त्यसको प्रभावमा नेपालले डलरको मूल्य अत्यधिक तिर्नुपर्ने चापका कारण महँगी बढेको हो। हाम्रो नियन्त्रणमा नभएको कुरालाई निर्माण व्यवसायीले पनि अपेक्षा गर्नु भएन।’
मन्त्री झाँक्रीले विकास निर्माणको काम समयमा सम्पन्न हुन नसक्नु र गुणस्तरीय काम हुन नसक्नुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताइन्।
विकास निर्माण समयमै सम्पन्न गर्न योजना छनौट, स्रोतको सुनिश्चितता तथा निर्माण व्यवसायीको प्रभावकारिता र जवाफदेहिता अनिवार्य शर्त भएको उनले बताइन्।
निर्माण व्यवसायीले गरेको कामको नियमन गर्नु सरकारको सम्बन्धित निकायको जिम्मेवारी भएको भन्दै मन्त्री झाँक्रीले कानुनमा भएका छिद्रका कारण सरकारी संयन्त्रले प्रभावकारी काम गर्न नसकेको बताइन्।
‘अहिले खासगरी कुनैपनि आयोजनाका सन्दर्भमा समयमा सम्पन्न नहुने, ति आयोजनाहरु अलपत्र हुने, त्यसले दायित्व सिर्जना गर्ने, चालु रहेका छन् भनेपनि त्यसले टाइम र कष्टको ओभरल्याप हुने जस्ता विषयहरुलाई हामीले संवेदनशील ढंगले नै हेरेका छौँ । यसो गर्दै गर्दा केही कुराहरु सम्बोधन भएका छन्’, उनले भनिन्, ‘तर केही कुरा अझै ऐनमै संशोधन हुन आवश्यक भएकोले निर्माण व्यवसायको क्षेत्रमा हुने पुन:निर्माण अथवा पूर्वाधारको विकास क्षेत्रमा हुने कामलाई ढिलो नहुन हामीले गर्नुपर्ने थुप्रै काम छन्।’