काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुँदैमा अमेरिकी सेना नेपाल नआउने बताएका छन्। उनले यस्ता भ्रमबाट मुक्त हुन पनि आग्रह गरेका छन्।
शुक्रबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले एमसीसी कुनै सैनिक राजनीतिक र प्रशासनिक सम्झौता नभएर विकास साझेदारीको लागि भएको दाबी गरे।
उनले एमसीसी प्रस्ताव संसदबाट पास हुँदैमा अमेरिकाबाट बिजुलीको तार हुँदै सेना नआउने बताए। गृहमन्त्री खाणले बिजुलीको तारमा सेना नभएर बिजुली नै आउने टिप्पणी गरे।
उनले नेपालको गरिबी निवारण, नेपालमा आर्थिक गतिविधि बढाउन, भौतिक पूर्वाधार निर्माणमा तीव्रता ल्याउने तथा सडक विस्तार, विद्युतको ट्रान्समिसन लाइन तानेर जनताको घर दैलोमा पु¥याउन, बढी भएका विद्युतलाई छिमेकी मुलुकमा पु¥याएर बिक्री गरी मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन एमसीसीले महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरे।
त्यस्तै, गृहमन्त्री खाणले निर्माण व्यवसायीको कामको क्षमता अभिवृद्धि गर्नका लागि सरकार सकारात्मक रहेको बताए। उनले अन्तर्राष्ट्रिय रुपमा समेत नेपाली निर्माण व्यवसायीको क्षमता बढेको भन्ने वातावरण बनाउन सरकार गम्भीर भएर लागेको दाबी गरे।