काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नै दम्भका कारण नेकपा (एमाले)का अध्यक्ष केपी ओली सडकमा पछारिएको बताएका छन् । र आफूहरु देशको अगुवाइ गरिरहेको दावी गरेका छन् ।
‘सबै ठाउँमा सरकारमा बसेका केपी ओली किन सडकमा पछारिन पुगे ? के गर्छस् मंगले आफ्नै ढंगले’ धादिङको गल्छीमा आयोजित कार्यक्रममा उनले भने, ‘केपी ओली आफ्नै कुवुद्धिले, आफ्नै ढंगले, आफ्नै दम्भले गर्दा आज सडकमा पछारिएका छन् । हामी देशको अगुवाइ गरिरहेका छौं ।’
पाँच दलीय गठबन्धन भत्काउन ओलीले निकै प्रयास गरे पनि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनतिर इमान्दारिता देखाएको बताए ।
‘यो गठबन्धन भताभुंग पार्न केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई निकै चारा फाल्ने कोशिस गरे, हाम्रो एकता तोड्न कोशिस गरे । मान्छेलाई लाग्यो कतै केपी ओली र शेरबहादुर मिल्ने त होइन ?’ उनले भने, ‘तर शेरबहादुरजीले इमान्दारिता राख्नुभयो । उहाँले भन्नुभयो–संकटका बेला मिलेर अघि बढेका छौं । यो संकटका बेलाको मित्रतामा घात गर्न सक्दिन ।’