काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेपाली कांग्रेसका नेताहरु र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बोरामा पैसा लिएर आउने बताएका छन् ।
शनिबार ईलाम–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजना गरेको भेलामा बोल्दै नेता खनालले निर्वाचन जित्नका लागि भोट किन्न ओली र कांग्रेस नेता बोरामा पैसा लिएर आउने बताएका हुन् ।
नेता खनालले केही कांग्रेसी नेताहरुले आगामी निर्वाचनमा खल्तीमा लड्छौँ भन्नुको अर्थ पैसाको बोराको खेल हुने र एक्लै जित्ने सोच बनाएको बताए । यद्यपि उनले कांग्रेस सभापति शेरबहादुर देउवाले भने निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताए ।
उनले एमाले अध्यक्ष ओली पनि चुनावमा पैसाको बोरा बोकेर चुनावमा भिड्ने बताए । एमालेले आफुलाई हराउने रणनीति बनाइरहेको समेत खनालले बताए ।
उनले एकीकृत समाजवादी पार्टी भर्खरै ६ महिनाको भएको बताउँदै पैसा समेत नभएकोले निर्वाचन आचारसंहितालाई सही प्रयोग गरेर चुनावी मैदानमा उत्रिन लागेको बताए । नेता खनालले आफ्ना कार्यकर्ताहरूलाई निर्वाचन आचारसंहितालाई मानेर चुनावी मैदानमा उत्रिन समेत निर्देशन दिए ।