काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नै बलबुतामा चुनाव लड्ने र जित्ने तयारी गर्नुपर्ने बताएका छन्।
काठमाडौंमा शनिवार सुरू भएको संघीय परिषद्को बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उनले आफ्नै बलबुतामा चुनाव लड्ने र जित्ने तयारी गर्नुपर्ने उल्लेख गरेका छन्।
गठबन्धन सरकार चलाउनु र चुनावी गठबन्धन गर्नु भिन्नाभिन्नै राजनीतिक घटना भएको उल्लेख गर्दै उनले प्रतिवेदनमा कुनै अमुक पार्टीको मात्र प्रयासले चुनावी गठबन्धन हुन नसक्ने बताएका छन्।
‘हाम्रो पार्टीको चाहना र प्रयासले मात्रै ५ दलीय गठबन्धनलाई चुनावसम्म सँगै लान सम्भव हुँदैन,’ उनले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘यसका अरु दलको पनि इच्छा, आवश्यकता र तत्परता हुनुपर्दछ । त्यसैले पार्टीले आफ्नै बलबुतामा चुनाव लड्ने र जित्ने तयारी गर्नुपर्दछ।’
भट्टराईले आगामी चुनावहरुसम्म संघीय र प्रादेशिक गठबन्धन सरकारहरु कायम रहनु पर्नेमा पार्टी प्रष्ट भए पनि चुनावहरु गठबन्धनबाट लड्ने कि एक्लाएक्लै भन्ने बारेमा अहिल्यै भन्न नसकिने पनि उल्लेख गरेका छन्।
आगामी निर्वाचनमा चुनावी तालमेलको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्ने भट्टराईको प्रतिवेदनमा उल्लेख छ।
‘स्थानीय विशेषता र सम्भावनाअनुसार अरु कुनै पक्षसँग चुनावी तालमेल गर्ने जिम्मा प्रदेश र स्थानीय तहलाई नै दिनुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ, ‘संघीय तथा प्रादेशिक निर्वाचनको रणनीति के कस्तो बनाउने त्यसका लागि अहिले पनि हामीसँग केही समय छ। तर, स्थानीय निर्वाचनको रणनीति भने अबिलम्ब बनाउनु पर्दछ।’