काठमाडौँ- इराकको उत्तरमा पर्ने स्वायत्त कुर्द क्षेत्रको इरबिल सहरस्थित अमेरिकी वाणिज्य दूतावासमा १२ वटा मिसाइल (क्षेप्यास्त्र) प्रहार गरिएको इराकी सुरक्षा अधिकारीहरूले बताएका छन्।
यीमध्ये धेरैजसो मिसाइल भवनमा खसेका छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा अमेरिकी वाणिज्य दूतावासनजिकै भयानक विस्फोटको आवाज सुनिएको छ। तर यी क्षेप्यास्त्रको निशाना के थियो भन्ने अहिलेसम्म पुष्टि भएको छैन।
समाचार एजेन्सी रोयटर्सका अनुसार राज्यको समाचार एजेन्सीले कुर्दिस्तानको काउन्टर टेररिज्मका महानिर्देशकलाई उद्धृत गर्दै इरबिललाई लक्षित गरी इराक बाहिरबाट १२ ब्यालेस्टिक मिसाइल प्रहार गरिएको बताएको छ। रोयटर्सका अनुसार यसअघि कुर्दिश अधिकारीहरूले एर्बिलमा धेरै रकेट खसेको बताएका छन्।
यसैबीच, समाचार एजेन्सी एएफपीका अनुसार काउन्टर टेररिज्मले यी मिसाइलहरू पूर्वबाट आएको बताएको छ। यसबाट केही क्षति भएको एएफपीले बताएको छ तर कुनै मानवीय क्षति भने भएको छैन।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यसलाई ‘क्रूर आक्रमण’ भनेका छन्। एएफपीका अनुसार विगतमा इराकमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाविरुद्ध रकेट र ड्रोन आक्रमण भएका छन्।
अमेरिकाले यी मिसाइलहरू इराकको छिमेकी इरानबाट प्रहार गरेको आरोप लगाएको छ । आक्रमणमा हालसम्म कुनै हताहतीको खबर आएको छैन।
यसअघि सिरियाको राजधानी दमास्कस नजिकै इजरायली हमलामा इरानको रिभोलुसनरी गार्डका दुई सदस्यको मृत्यु भएको थियो । त्यसबेला इरानले आक्रमणको कडा निन्दा गर्दै यसको बदला लिने बताएको थियो।