काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई प्रधानमन्त्री दिएर भने पनि एमसीसी रोक्न आफूले खोजेको खुलासा गरेका छन् ।
काठमाडौंको प्रज्ञा भवनमा पार्टी प्रशिक्षण कार्यक्रममा एमसीसीको सकसबारे कार्यकर्तालाई बुझाउँदै प्रचण्डले एमसीसी अनुमोदन हुन नदिने सबै प्रयास असफल भएपछि गठबन्धन जोगाउन व्याख्यात्मक टिप्पणीको बाटो लिएको बताएका हुन् ।
‘केपीलाई प्रधानमन्त्री दिएर पनि एमसीसी रोक्न सकिन्छ कि भनेर गएका हौं’, उनले भने ‘तर, पूरै अपमान गरेपछि सर्प पनि मर्ने, लाठी पनि नभाँचिने लाइनमा गइयो ।’
आफूहरु ओलीसँग कुरा गर्न जाँदा सभामुखले राजीनामा दिनुपर्ने, नेकपा एकीकृत समाजवादीका १४ सांसदको पदमुक्तिको सूचना टाँस्नुपर्ने र नेकपाकालमा आफूहरूले ओलीमाथि लगाएको १९ बुँदे अभियोगपत्र फिर्ता लिनुपर्ने शर्त राखेपछि बेकार आइएछ भनेर हिँडेको प्रचण्डले बताए ।