काठमाडौं– नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन अनन्तले पाँच वर्षका लागि सडकमा पछारिएको नेपाली कांग्रेसलाई आफूहरुले बुई चढाएर सत्तामा पुर्याएको टिप्पणी गरेका छन् ।
तर कांग्रेस नेताहरुमा उन्माद देखिएको भन्दै उनले फेरि सत्ताबाट सडकमा पुर्याउन सक्ने बताएका छन् । माओवादी केन्द्र र सत्ता गठबन्धन आवद्ध अरु दललाई सार्वजनिक टिप्पणीमार्फत नहेप्न चेतावनी दिए ।
‘कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन्,’ पुनले भने, ‘हामी सरकार बनाउन सक्छौं, भत्काउन सक्छौं । सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्याउने ताकत हामीसँग छ । कांग्रेस नेताहरुले बुझ्न जरुरी छ ।’
उनले चुनावी गठबन्धनविरुद्ध रहेका कांग्रेस नेतालाई ०७४ को निर्वाचन परिणाम स्मरण गर्न सुझाव दिए । केपी ओलीमा सत्ता उन्माद चढेपछि उनले भोगेको हविगतबाट पाठ सिक्न र आफ्नो वास्तविक शक्ति सम्झिएर के बोल्ने के नबोल्नेबारे विचार गर्न आग्रह गरे ।
‘सत्ता उन्मादले केपी केपी ओली प्रतिगमनको नाइके हुनुभयो । पटकपटक संसद विघटन गर्नुभयो’, उनले भने, ‘आफ्नो कर्मका कारण दुई तिहाइ विशाल जनमतसहितको शक्तिशाली प्रधानमन्त्री आज सडकमा पुग्नुभएको छ, ६ महिनादेखि बिना एजेण्डा संसदमा नारा लगाइरहनुभएको छ ।’
पुनले माओवादी कसैसँग तालमेल नगरी निर्वाचन लड्न र जित्न सक्षम रहेको दाबी समेच गरे । स्थानीय तह र संघीयताका लागि माओवादी लडेको चर्चा गर्दै पुनले त्यसको नेतृत्व गर्न पनि माओवादी सक्षम साबित भएको बताए ।