गोरखा– नेकपा (माओवादी केन्द्र), पालुङटार नगरकमिटि निर्वाचन प्रणालीबाट चयन भएकाे छ । गत मंसिर ११ गते ६५ नगर सदस्यीय चयन गर्दै स्थगित भएकाे अधिवेशन विहिवार निर्वाचन प्रणाली मार्फत सम्पन्न भएकाे हाे ।
नगरकमिटिकाे अध्यक्षका लागि चारजनाकाे उम्मेदवारी परेकाे थियाे । निर्वतमान नगर अध्यक्ष विवश चिन्तन (अजय), विकास वाग्ले, मदन देवकाेटा र दुर्गालाल श्रेष्ठ मैदानमा थिए ।
अध्यक्षमा चार जनाकाे दावी परेसंगै वाग्ले र श्रेष्ठले देवकाेटालाई समर्थन गरेपछि देवकाेटा भर्सेस अजय चुनावी मैदानमा उत्रिएका थिए । अजयले ३२ मत प्राप्त गरे भने देवकाेटाले २२ मत प्राप्त गरे । देवकाेटालाई जिल्ला अध्यक्ष लेखबहादुर थापामगर र केन्द्रीय सदस्य चुडामणी खड्काकाे समर्थन थियाे भने अजयलाई नारायकाजी श्रेष्ठकाे ।
खड्का इन्चार्ज रहेकाे गाेरखा काठमाडौं सम्पर्क समन्वय समिति र पालुङटार नगर कमिटिमा भद्रगाेल बनाएका उनी पालुङटारमा नराम्राेसंग हार व्यहाेरेका छन् । सम्पर्क समितिमा पनि निर्वाचनमा जाने भन्दै सदस्यहरू कृयाशिल भएपनि खड्काका कारण कमिटिले पूर्णता पाउन नसकेकाे स्राेतकाे दावी छ ।
तिन उपाध्यक्षका लागि उपाध्यक्षमा ७ जनाकाे उम्मेदवारी परेकाे थियाे । जसमा शर्मिला बगाले (३२) , सुमन आचार्य (३३) र रिखिराज धैराली (२८) मतका साथ निर्वाचित भएका छन् । उनीहरूले गाेविन्द्र बराकाेटी (११), रामचन्द्र तिवारी (१२) र मानबहादुर पाैडेल (२२) लाई हराउदैं निर्वाचित भएका हुन् ।
उपाध्यक्षका उम्मेदवार तथा नगरपालिकाकी उपमेयर पम्फा बसेल गण्डकी प्रदेश सदस्य हुदैं केन्द्रीय सदस्यमा मनाेनित भएपछि उनी चुनावी मैदानबाट बाहिएकी थिइन् । काेषाध्यक्षमा विकास भट्टराईकाे मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका छन् ।
सचिवमा शंकरराज कंडेल ३३ मतका साथ निर्वाचित भएका थिए आशिष देवकोटाले २० मत ल्याएका थिए । त्यस्तै, सहसचिवमा बुद्धी गुरुङले २८ मतका साथ निर्वाचित भए भने प्रतिस्पर्धा बसन्त देवकोटाले १९ मत ल्याएका थिए ।
नगर कमिटिमा एक अध्यक्ष, दुई उपाध्यक्ष र एक समावेशी उपाध्यक्ष, एक सचिव, एक सह-सचिव र काेषाध्यक्षसहित ६५ जना सदस्य रहने व्यवस्था छ ।
माओबादीकाे विधान अनुसार नगरकमिटिको अधिवेशनबाट निर्वाचित नगर सदस्यहरु मध्येबाट नगरसमितिका पदाधिकारीको निर्वाचन गरिएको हो ।
अध्यक्षमा चार जनाको उमेद्वारी रहे पनि विकास वाग्ले र दुर्गालाल श्रेष्ठले मदन देवकोटालाई सम्मर्थन गर्दै उम्मेद्बारी फिर्ता लिएपछि मतदान प्रक्रिया अघि बढेको थियाे।