फाइल तस्बिर
हेटौँडा– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसजस्तो भरोसायोग्य पार्टी अरु कुनै नरहेको बताएका छन्।
सोमबार नेपाली कांग्रेसको बागमती प्रदेश कार्यालय उद्घाटन गर्न हेटौँडा पुगेका उनले यसपटकको निर्वाचनमा जनताले कांग्रेसलाई चुन्ने विश्वास समेत व्यक्त गरे।
‘अरू पार्टीहरू सरकारमा बस्छ। एमसीसी ठीक छ भन्छ। एमसीसीलाइ चिठी पनि लेख्छ। अनि पास गर्ने बेलामा एमसीसी राष्टघाती छ भन्छ। कांग्रेसले यस्तो दोहोरो चरित्र देखाउँदैन’, सिंहले भने। उनले विद्युत् र सडकका लागि मात्र एमसीसी अनुदान लिएको प्रष्ट्याए।
चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीनथरी धारणा रहेको पनि नेता सिंहले बताए।
‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको छ। एकथरी एक्लै जानुपर्छ भन्छ। अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्छ। एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ,’ उनले भने, ‘अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छौँ।’
प्रदेशका नेताहरूलाई घरघर पुगेर मतदाताको मत जित्दै कांग्रेसका उमेदवारलाई जिताउनेतर्फ लाग्न समेत सिंहले निर्देशन दिए। उनले पार्टीभित्रको आनतरिक प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिनुपर्ने बताए।
अधिवेशनमा आफूले चाहेजस्तो नतिजामा नआएपछि जिम्मेवार नेताहरुले सार्वजनिक रुपमा अतिरञ्जित अभिव्यक्ति दिनु दु:खद् रहेको सिंहको भनाइ छ।