बारपाक (गाेरखा)- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तहको निर्वाचन अन्य दलका लागि नियमित निर्वाचन मात्रै भए पनि आफ्नो पार्टीका लागि उपलब्धि जोगाउने लडाइँ भएको बताएका छन्।
शनिबार गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देशमा आफूहरूले लडेर ल्याएको उपलब्धि उल्ट्याउने षड्यन्त्र भइरहेको दाबी गरे।
‘अरूका लागि स्थानीय तहको निर्वाचन निर्वाचन मात्र होला, माओवादीका लागि निर्वाचन मात्र होइन, सहिद, बेपत्ता योद्धा, लाखौं जनताका सपनाहरू सफल पार्ने कि विफल पार्ने भन्ने लडाइँ हो’, उनले भने,‘ अरूलाई जित्दा वा हार्दा फरक पर्दैन, हाम्रा लागि आउँदै गरेको चुनाव लडाइँ हो, हामीले हार्दा गणतन्त्र हार्छ, समावेशी समानुपातिक, सयौं वर्षदेखिको अत्याचारमा राखिएको वर्ग समुदायको हक अधिकार खोसिन्छ, हामीले जित्दा बच्नेछ।’
अहिले देशीविदेशी तत्व सबै गठबन्धन टुटाउन र माओवादीलाई चुनाबबाट हराउन लागेको उनले बताए ।
‘अहिले पनि गठबन्धन टुटाउने र संबिधान उल्ट्याउने खेल रोकिएको छैन । भित्रभित्रै त्यो खेल र षडयन्त्र भइरहेको छ । माओवादी जनयुद्ध र जनआन्दोलनले ल्याएको परिर्वतन उल्ट्याउने षडयन्त्र भइरहेको छ’, उनले भने ।
०७५ साल फागुन १४ गते शिलन्यास भएको गाउँपालिकाकाे भवन ४ करोड ९५ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हाे । गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाको लगानीमा सुबिधा सम्पन्न कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।