काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको बताएका छन्।
राप्रपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिलो १५ वर्षको राजानीतिक परिवर्तन र पूर्वराजाको दलप्रतिको आक्रामक सोचले राजसंस्था पुनःस्थापनको सम्भावनालाई समाप्त पारेको दाबी गरे।
राजसंस्थाको पुनःस्थापना नेपालकै राजनीतिक दल र आमजनताले गर्ने भए पनि पूर्वराजाले आफ्नो भावना सार्वजनिक गरेर दलप्रति वितृष्णा फैलाउने काम मात्र गरेको उनको आरोप छ।
उनले राजसंस्था पुनःस्थापनाको वकालत गर्ने एक मात्र पार्टी राप्रपामा पूर्वराजा र उनको सचिवालयले गरेको चलखलेका कारण आजित भएर आफू नयाँ बाटोतर्फ लागेको दाबी गरे।
अध्यक्ष थापाले आउने स्थानीय तहको निर्वाचनबाट धेरै अपेक्षा नराखे पनि देशकै सम्पूर्ण स्थानीय तहमा राप्रपा नेपालका उम्मेदवारले चुनाव लड्ने बताए।