काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावमा गठबन्धनलाई सैद्धान्तिक रुपमा पुष्टि गर्न नसकिने बताएका छन्। आफू गठबन्धनको विपक्षमा रहेको उनले स्पष्ट पारेका हुन्।
कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा सोमबार बोल्दै उनले रुखमा मतदान गर्ने अहिले हँसिया-हथौडा र कलममा मतदान गर्न कांग्रेसले भन्न नसक्ने बताए।
उनले भने, ‘रुखबाहेक कतै भोट नहालेका लाखौं मतदातालाई अहिले अन्यत्र भोट हाल्न लगाउने हो भने भविष्यमा रुखमै भोट हाल्ने ग्यारेन्टी के?’
जुनसुकै प्रस्तुतिमा पनि रुख नै रोज्ने मतदातालाई गठबन्धनका नाममा अन्यत्र भोट हाल्न बाध्य पार्दा आगामी दिनमा कांग्रेसले ठूलो क्षति बेहोर्ने तर्फ उनले सचेत गराए।
नेताहरुलाई चिह्न एउटा जित-हारको प्रतीक भएपनि मतदाताको रुखसँग भावनात्मक सम्बन्ध रहेको बताउँदै त्यसलाई ख्याल गर्न आग्रह गरेका छन्। रुखबाहेकमा भोट हाल्न लगाउने कुराले कांग्रेसलाई कमजोर बनाउँदै लैजानेतर्फ सचेत गराएका छन्।
थापाले नेपालमा कम्युनिस्टबाट लोकतन्त्रलाई खतरा रहेको आफूहरुले बारम्बार बोलिरहेको उल्लेख गर्दै थपे, ‘यो पटक कम्युनिस्टहरुबीच तालमेल हुन नदिएर लोकतन्त्र बचायौं भन्ने हो त?’