काठमाडौं- नेपाली कांग्रेसमा चुनावी गठबन्धनको पक्षमा प्रमुख नेताहरू प्रखर रूपमा खुलेका छन् । केन्द्रीय कार्य समितिको जारी बैठकमा सभापति शेरबहादुर देउवालाई उनको समूहभन्दा इतरका नेताहरूको समेत बलियो समर्थन देखिएको छ ।
सोमबारको बैठकमा आफ्नो धारणा राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीलाई बलियो बन्न नदिन पनि कांग्रेसले माओवादी र एकीकृत समाजवादीलाई मत दिनुपर्ने बताए ।
उनले अहिलेका लडाइँ एमालेविरुद्ध भएकाले गठबन्धन जरुरी रहेको जिकिर गरेका छन् ।
बैठकमा पौडेलले भने, ‘केपी ओलीलाई कुनै हालतमा बलियो बन्न दिनु हुँदैन । बरु समाजवादी र माओवादीलाई मत दिएर एमाले साइजमा राख्नुपर्छ । यो लडाइँ एमालेविरुद्ध हो । त्यसैले गठबन्धन जरुरी छ ।’
सोमबारको बैठकमा सभापति देउवाले गठबन्धनको पक्षमा धारणा राखेका थिए भने नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायतले गठबन्धन गर्न नहुने पक्षमा धारणा राखेका थिए । कांग्रेसको बैठक अब मंगलबार दिउँसो ३ बजे बस्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।