गोरखा नगरपालिका-१, ताप्लेमा बाख्रा बाड्ने र कृषकलाई सम्मान गर्ने कार्यक्रममा नेपाली कांग्रेसमा प्रवेश गराउदैं मेयर राजनराज पन्त । तस्बिर : समाजिक सञ्जाल
गोरखा– २०७४ को स्थानीय निर्वाचनमा प्रमुखमा पराजित एक उम्मेदवारले एक छलफलमा भनेका थिए– ’२०७४ को निर्वाचन र अहिलेको निर्वाचनमा धेरैको अन्तर छ हाम्रा लागि । अघिल्लो तहको निर्वाचनमा सबै आफ्नै स्रोत साधनमा चुनावी मैदानमा होमिएको भए पनि अहिलेको निर्वाचन हाम्रालागि निकै फरक छ हुनेवाला छ । किन पनि भने अहिलेको निर्वाचानमा जनप्रतिनिधिहरूले स्थानीय तहको स्रोत तथा साधान दुरूपयोग गरि निर्वाचनमा होमिने छन् । हामी जहाँको त्यहि छौं ।’
यो कुराले पनि बहालवाला जनप्रतिनिधिले स्थानीय तहको साधन स्रोतको दुरूपयोग गरि चुनावी मैदानमा होमिने चिन्ता छ । यदि स्थानीय निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारले राजीनामा दिनुपर्ने कानुनी प्रावधान रहेको भए स्थानीय तहको स्रोत साधन दुरूपयोग रोकिन सक्थ्यो कि ? अथवा सत्ता र सत्ता बाहिररहेका उम्मेदवार बराबरी हिसावले निर्वाचनमा जाँदा सहज हुन्थ्याे कि भन्ने उनकाे गुनासाे बुझ्न सकिन्थ्याे ।
निर्वाचन आयोगले स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनेपनि बहालवाला जनप्रतिनिधिबाट विराेध भयाे । सर्वाेच्च अदालतले राजीनामा दिनु नपर्ने भन्दै आदेश दिएपछि झन् स्थानीय तहका जनप्रतिनिधिले सरकारी स्राेत साधनकाे दुरूपयाेग बढ्ने निश्चित भएकाे छ ।
गोरखाका ११ स्थानीय निर्वाचनमा कुल १ हजार २२ भन्दा बढि जनप्रतिनिधि निर्वाचित भएका छन् । उनीहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र नयाँ शक्ति पार्टी, नेपालबाट निर्वाचित जनप्रतिनिधि हुन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि बैशाख ३० गते मिति तोकेको छ ।
जिल्लामा पाँच वटा दलले राष्ट्रिय मान्यता पाएका छन् भने बाँकि १८ वटा दलले राष्ट्रिय स्तरको दलको मान्यता पाउन सकेनन् । उनीहरूले आफ्नो दलको चुनाव चिन्हबाट निर्वाचनमा उम्मेदवार बन्न पाउने छन् । २०७४ को स्थानीय निर्वाचनमा जिल्लामा १६ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिएका थिए । २०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल यहि जेष्ठ ५ गतेबाट सकिँदैछ ।
२ नगरपालिका र ९ गाउँपालिका गरी ११ वटा स्थानीय सरकार रहेको गोरखामा २०७४ को स्थानीय निर्वाचनबाट कांग्रेसले ९ वटा र माओवादीले २ वटामा नेतृत्व पाएका थिए । निर्वाचन नजिकिँदै गर्दा गोरखामा राजनीतिक दलहरुको सक्रियता जनस्तरमा बढ्न थालेको छ । जिल्लामा सक्रिय सबै दलहरुले अहिले धमाधम पार्टी प्रवेशदेखि विभिन्न कमिटी गठन गर्दै टोलटोलमा प्रचारप्रसारको गतिबिधी बढाउन थालेको छ ।
जिल्लामा सक्रिय दलहरुमध्य अधिकांशले अहिले आगामी निर्वाचनबाट परिणाम आफ्नो पक्षमा पार्ने उदेश्यका साथ राष्ट्रिय स्तरका नेताहरु ल्याएर चुनाव केन्द्रित कार्यक्रम गर्न थालेका छन् ।
अधिकांस पार्टीहरुले गरेको चुनाव लक्षित कार्यक्रममा उनीहरुले क्षेत्र छुट्टाएर आफ्ना नेतादेखि अधिकांश जनप्रतिनधीहरुलाई खटाएका छन् । निर्वाचन नजिकिँदै गर्दा चुनाव लक्षित कार्यक्रमहरुमा सबै दलले जनप्रतिनिधीहरु खटाउन थालेपछि अहिले जनप्रतिनिधीहरु आफ्नो कार्यकक्षमा भेटिनै छाडेको भन्दै सेवाग्राहीहरुको गुनासो गरेका छन् । जनप्रतिनिधीहरु चुनाव लक्षित कार्यक्रममा धाउन थालेकै कारण अहिले सेवाग्राहीहरुले सास्ती व्यहोर्नु परेको छ ।
आगामी निर्वाचनमा पनि अहिलेकै जनप्रतिनिधीहरुलाई टिकट दिने कुरामा प्राथमिकता दिने अधिकांश पार्टीको केन्द्रीय धारणा छ । सोही कारण पनि आगामी कार्यकालका लागि पनि दोहोरिन चाहाने जनप्रतिनिधीहरु विशेषत अहिले जनताको माझमा जाने, अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धता पुरा नभएको ठाउँमा टुक्रे बजेटबाट भएपनि सम्बोधन गर्ने र मतदाता फकाउने काममा व्यस्त छन् ।
यस्तै, आगामी कार्यकालमा दोहोरिन नचाहाने र चाहे पनि टिकट पाउने सम्भावना नदेख्नेहरु भने पार्टी भित्रका आकांक्षीहरुका लागि माहोल बनाईदिने गरि मतदाता भेटघाटमा ब्यस्त छन् । यद्यपी गत निर्वाचनमा गरेको प्रतिबद्धता र घोषणा पत्र अनुसार काम नगरेको भन्दै जिल्लाका अधिकांश स्थानीय सरकारका जनप्रतिनिधीहरुसँग मतदाताहरु रुष्ट देखिन्छन् ।
जनप्रतिनिधीहरुले कार्यकर्तामुखी काम गरेको, अनियमितता र भ्रष्ट्रचारमा संलग्न भएको, जनअपेक्षा र जनभावना अनुसार काम नगरेको भन्दै आम जनताहरु दुखेसो पोख्ने गरेका छन् ।
कार्यकक्षमा भेटिन्नन् जनप्रतिनिधि !
गत विहिबार पालुङटार नगरपालिका मेयर दीपकबाबु कंडेल आफ्नो कार्यकक्षमा भेटिएनन् । उनले प्रयोग गर्दै आएको सम्पर्क नम्बरसमेत अफ गरेर मेयर कंडेल निर्वाचन प्रचार प्रसारमा दौडिन् थालेका छन् । सेवाग्राही उनलाई भेट्न आएपनि नगरपालिकाका कर्मचारी मेयर सा’प नआउने भन्दै सेवाग्राहीलाई सम्झाउन व्यस्त थिए । त्यस्तै, नगरपालिकाकी उपमेयर तथा न्यायीक समितिको संयोजक पम्फा बसेलससेत कार्यालयमा भेटिन् छोडेकी छिन् ।
अजिरकाेट गाउँपालिका अध्यक्ष फणिन्द्र धिताल पनि कार्यालयमा भेट्न मुस्किल पर्छ । उपाध्यक्ष एवं न्यायीक समिति संयोजक चन्द्रमाया गुरूङ महिनामा १० दिन मात्रै कार्यालयमा हुन्छिन् । घर वडा न १ ध्याचोक भएपनि उपाध्यक्ष गुरूङ विहान बेलुका गोरखा बजार आउने–जाने गर्छिन् । समाचार स्रोतका अनुसार उनी दैनिक गाउँपालिकाको गाडीमा ८० किलोमिटरको बाटो यात्रा गर्छिन् ।
गोरखा नगरपालिकाका मेयर राजनराज पन्त नगरपालिकाको गाडी दुरूपयोग गर्दै नगरपालिकाको कार्यक्रम भन्दै कांग्रेसको कार्यक्रममा ब्यस्त हुन थालेका छन् । कांग्रेसबाट निर्वाचित पन्त फेरी मेयरको टिकट हात पार्न कम्मर कसेर लागेका उनी अहिले धुलो उडाँउदै गाउँ–गाउँ पुगेका छन् । उनी पनि कार्यालय समयमा कार्यालयमा भेट्न सकिन्न ।
जिल्लाका प्राय अध्यक्ष, उपाध्यक्ष यसरी कार्यालय समयमा कार्यलय भेटिनन् । बारपाक-सुलिकाेट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरूङ, भिमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डे तथा उपाध्यक्ष विनु वाग्ले, सहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा तथा उपाध्यक्ष ईन्दिरा तिवारी, गण्डकी गाउँपालिका अध्यक्ष हाेमबहादुर राना तथा उपाध्यक्ष ललिता अधिकारीसमेत कार्यलयमा भेट्न मुस्किल छ ।
त्यस्तै, आरूघाट गाउँपालिका अध्यक्ष पूर्ण बहादुर दाहाल तथा उपाध्यक्ष कल्पना तिवारी, धार्चे गाउँपालिका अध्यक्ष सन्त गुरूङ तथा उपाध्यक्ष फुलमाया गुरूङ, चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरूङ तथा उपाध्यक्ष कुमारी गुरूङ र सिरानचाेक गाउँपालिका अध्यक्ष राजु गुरूङ र उपाध्यक्ष रिता देवकाेटासमेत कार्यलय समयमा भेट्न मुस्किल छ ।
याे पनि,
गाेरखामा २३ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने
गाेरखामा २ लाख २० हजार मतदाता : २१५ मतदान स्थल, ३२१ मतदान केन्द्र
स्थानीय निर्वाचनको रौनक : गोरखामा कुन तहमा को बलियो ?
फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : गाेरखाका कुन स्थानीय तहमा कस्तो नतिजा, अब कस्ताे हाेला ?