काठमाडौं- नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको छ ।
केन्द्रीय समिति बैठक र शीर्ष नेताहरुको बैठकले स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । पार्टीको केन्द्रीय समिति बैठक र शीर्ष नेताको बैठकले गठबन्धनबारे नीतिगत निर्णयमात्र गरेको महतले बताए ।
‘स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहका दलहरुसँग तालमेल गर्ने नीतिगत निर्णय भयो । व्यवहारमा कसरी कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा केन्द्रमा, प्रदेशमा र जिल्ला तहमा संयन्त्र बन्छ’ उनले भने ।
बैठकले उपसभापति पूर्णबहादुर खड्ककाे संयाेजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । त्यस्तै डा. महतकाे संयाेजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।
संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा कांग्रेसले प्रस्तुत गरेको सफल नेतृत्व, देश विकास र समृद्धिको यात्रामा प्रस्तुत गरिरहेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गरेको कांग्रेसको ठहर छ ।
संयमित र समन्वयकारी राजनीतिक व्यवहार तथा पार्टीले नेतृत्व गरिरहेको स्थानीय तहमा जनमुखी र प्रभावकारी कामका कारण आसन्न स्थानीय चुनावमा बहुसंख्यक स्थानीय तहमा बलियो आधार र परिस्थिति निर्माण भइसकेको समेत बैठकले निष्कर्ष निकालेको छ ।