काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जाँदै छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनी दिउँसो १ बजे तीन दिने औपचारिक भारत भ्रमणमा निस्कन लागेका हुन्।
प्रधानमन्त्री देउवासहित परराष्ट्र मन्त्री नारायण खड्का, ऊर्जा मन्त्री पम्फा भुसाल, स्वास्थ्य मन्त्री विरोध खतिवडा र कृषि मन्त्री महिन्द्र राय यादव भारत जान लागेका हुन्। प्रधानमन्त्री देउवा नेतृत्वमा ५० सदस्यीय भ्रमण टोली भारत जाने भएको हो।
साथै प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भारत भ्रमणका क्रममा सीमा विवाद, ऊर्जा, द्विपक्षीय हित, व्यापार तथा लगानीलगायत विभिन्न विषय नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले जनकपुर–जयनगर रेलको संयुक्त रूपमा उद्घाटन गर्ने तयारीसमेत छ।
प्रधानमन्त्री देउवाले नयाँ दिल्लीमा व्यापारीहरूको एउटा भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ। तीन दिने भ्रमण सकेर फर्कनुअघि प्रधानमन्त्री देउवाले वाराणसीको भ्रमण पनि गर्नेछन्।
भ्रमणप्रति एमालेको आपत्ति
प्रधानमन्त्री देउवाको भारत भ्रमणमा प्रमुख प्रतिपक्षी एमालेले प्रश्न उठाएको छ ।
तर, मुलुकका कार्यकारी प्रमुखको भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएको भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आपत्ति जनाएका हुन् ।
उनले भनेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ । संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन ।’
देउवाको भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले भन्दै रिजालले प्रश्न उठाएका हुन् । ‘स्वाभाविक रुपमा प्रश्न उठेको छः शेरबहादुर देउवाको यो भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हुन लागेको हो ’ उनले प्रश्न गरेका छन् ।