काठमाडौं- नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षीत तेश्रो परिपत्र जारी गरेको छ ।
परिपत्रमा उसले निर्वाचनमा उम्मेदवार चयन गर्दा अपनाउनुपर्ने मापदण्ड स्पष्ट रुपमा उल्लेख गर्नुका साथै गठबन्धन दलहरुबीचमात्रै निर्वाचनमा तालमेल गर्न पाईने निर्देशन दिएकाे छ ।
बिहीबार सम्पन्न सत्तारुढ गठबन्धन दलको बैठकपछि पार्टी अध्यक्ष प्रचण्डको हस्ताक्षरसहित माओवादीले शुक्रबार जारी गरेको परिपत्रमा विशेष परिस्थितिबाहेक पहिले विजयी उमेदवारलाई नदाहोर्याउन निर्देशन दिएको छ ।
त्यसैगरी उम्मेदवार देश जनता, पार्टी र क्रान्तिप्रति इमान्दार र निष्ठावान हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने मापदण्ड तोकेको छ । त्यसैगरी विजयको सम्भावना भएको लोकप्रीय व्यक्ति छनौट गर्नुपर्ने पनि उल्लेख गरेको छ ।
गठबन्धन दल बाहेक अन्य दलसँग तालमेल गर्नुपर्ने अवस्था आएमा गठबन्धनमा अनुमति लिएर गर्न सक्ने बाटो खुला गरिएको परिपत्रमा उल्लेख छ । त्यसैगरि स्थानिय वडा तहदेखि नै गठबन्धनको संयुक्त संयन्त्र निर्माण गर्ने र गठबन्धन र अन्य दलको वर्तमान अवस्था कस्तो छ ५ दिनभित्र स्पष्ट तथ्यांक पठाउन पनि निर्देशन दिएको छ ।
परिपत्रमा भनिएको छ – ‘संयन्त्रको बैठक आयोजना गरी ५ दिनभित्र गठबन्धन र अन्य दलको निर्वाचन सम्वन्धी वर्तमान अवस्था कस्तो छ, तथ्यगत वस्तुस्थितिको जानकारी सहितको रिपोर्ट केन्द्रीय संयन्त्रमा पठाउने ।’ संयन्त्रमा एक दलबाट एक जनाको दरले प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।
यस्तो छ उम्मेदवार छनौटको मापदण्ड
१. विशेष परिस्थितिबाहेक सामान्यतया विगतका जनप्रतिनिधिलाई नदाहोर्याउने
२. देश जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको
३. स्वच्छ छवि भएको
४. विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौटमा ध्यान दिने
५. पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने
६. समानुपातिक समावेशी प्रतिनिधित्वको आधारलाई विशेष ध्यान दिने