गाेरखा- १४१ किलाेमिटर सडकखण्ड रहेकाे गाेरखा-काठमाडाैंकाे भाडा फेरि बढेकाे छ । गाेरखा-काठमाडाैं सडकखण्डमा ३८५ भाडादर रहेकाेमा १० प्रतिशत बढेपछि ४२४ रूपैयाँ कायम भएकाे छ । त्यस्तै, गाेरखा हुदैं जाने ग्रामिण रूटकाे समेत भाडादर बढ्ने छ ।
१९५ किलाेमिटर रहेकाे विरजंग-गाेरखा सडकखण्डकाे ५५६ पुगेकाे छ । यसअघि ५०५ भाडादर रहेकाे याे सडकखण्डमा १० प्रतिशत बढेर ५५६ पुगेकाे हाे ।
भैरहवा-नारायणगढ-गाेरखा सडक खण्डमा यसअघि ५३५ भाडा रहेकाे १० प्रतिशत बढेर ५८९ पुगेकाे छ । यस सडकखण्डकाे २०५ किलाेमिटर रहेकाे छ । जिल्ला भित्रका तथा गण्डकी प्रदेश भित्रका अन्तर जिल्ला हुदैं जाने सडकखण्डकाे भाडा भने प्रदेश सरकारलाई बढाउन बाटाे खुलेकाे छ ।
संघ सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको हाे । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबाहक सवारी साधनमा भने भाडा १० प्रतिशतले बढाएको छ ।
पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ ।
पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो । संघ सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने छन्।
नयाँ व्यवस्था भएपछि तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने सुनिश्चित हुने भएकाले सकारात्मक निर्णय भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । अब प्रदेशले पनि यसैअनुसार भाडा समायोजन गर्नुपर्ने उनले बताए ।
डिजल–पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका थिए । २७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा बढाएयता डिजल-पेट्रोलको मूल्य प्रतिलिटिर ३४ रुपैयाँले बढिसकेको छ ।