जनकपुरधाम- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका कारण नागरिकता विधयेक संसदमा छलफल हुन नपाएको बताएका छन्।
महोत्तरीको गौशालास्थित नविनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न पुगेका अध्यक्ष प्रचण्डले ‘केपी ओली नामको गुट’ ले नेपालका हजारौं लाखौं नागरिकलाई नागरिकतावहीन बनाएको आरोप लगाए।
उनले भने, “मधेशमा नागरिकताको समस्या र मधेशीले अझै अधिकार पाएका छैनन्। मैले दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेशी जनताको हक अधिकार अझ परिमार्जन गरेको थिएँ। दुई पटक संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थिएँ। अझै पनि त्यो परिमार्जन हुनुपर्छ भन्ने लडाइँमा म लडिरहेको छु।”
नागरिकता समस्या हल नगर्दा हजारौं र लाखौं युवा नेतृत्व विकासबाट वञ्चित भएका बताएका उनले अदालतले नागरिकतासम्बन्धी विषय गम्भीर मुद्दा भएकाले संसदबाट पारित गर्नुपर्ने भएकाले रोकिएको पनि बताए।
उनले भने, “त्यपसछि हामीले संसदमा छलफल गर्न चाहेका थियौं। तर नेकपा एमाले नामको केपी ओलीको गुटले संसद चल्न नदिएको हुनाले नागरिकतासम्बन्धी विषयले वैधानिक रुपले संसदमा बहस हुनै पाएन।”
आफ्नो पार्टीकी नेता शशि श्रेष्ठ राज्य व्यवस्था समितिको सभापति हुँदा नागरिकतासम्बन्धी समस्या समाधा गर्न प्रतिवेदन पास गरेर बुझाए पनि तर त्यतिबेलाको सरकार (केपी ओली सरकार) ले यो विषयलाई जसरी अघि बढाउनुपर्थ्यो त्यसरी बढाउन नचाहँदा अदालतमा मुद्दा परेको बताए।