संसारमा माक्र्सवादको जन्म भएपछि वैचारिक जगमा बनेका विभिन्न देशका कम्युनिष्ट पार्टीको नेतृत्व निर्माणको इतिहास लामो रहेको छ । रसियन समाजवादी क्रान्तिको नेतृत्व होस् या चिनियाँ कम्युनिष्ट पार्टीले सन १९४९ मा चिनियाँ सत्ता प्राप्त गरेको अवस्था होस् । नेपालको कम्युनिष्ट पार्टी विभाजन हुँदै जाँदा कुनै समूहले महासचिव र कुनै समूहले महामन्त्रीलाई प्रमुख नेता मान्दै आएको इतिहास पाइन्छ ।
अहिले स्थानीय तहको चुनावी सरगर्मी दिन प्रतिदिन बढ्दो छ । चुनावको मुखमा गठबन्धन बन्ने क्रममा नेपालको राजनीति अब दुई ध्रुवमा विभाजित हुने पक्का छ । एउटा पक्ष राजावादी, जसको नेतृत्व नेकपा एमाले र राप्रपाले गर्नेछ भने अर्को गणतन्त्रवादी शक्ति, जसको नेतृत्व नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी तथा कांग्रेस र प्रजातन्त्रवादीहरुले गर्ने छन् । अहिलेको पहिलो प्रहार सङ्घीयता हो भने दोश्रो प्रहार गणतन्त्रमाथि नै हो । गणतन्त्रलाई मासेर बेबी किङको नाममा राजतन्त्र स्थापना गर्ने खेलमा केपी ओली लागेको अनुमान राजनीतिक वृत्तमा गरिन थालिएको छ । ओलीले अहिले राप्रपासँग गठबन्धनको प्रस्ताव गरेपछि यस बुझाइलाई थप मद्धत पुगेको अनुमान सहजै लगाउन सकिन्छ ।
विश्व कम्युनिस्ट आन्दोलनमा शासक र सामन्तहरुलाई साथ दिने शायद विश्वको पहिलो पार्टी ओली नेतृत्वको नेकपा एमाले बन्नेछ । यसरी ओलीले विश्व राजनीतिमा नयाँ रेकर्ड राख्नेछन् । ओलीको पटक–पटकको भूमिकाले अब निकट भविष्यमा राजतन्त्र बेबी किङको लागि ओली एमाले सङ्घीयता र गणतन्त्रबाट पछि हट्ने सम्भावना देखिएको छ । केपी ओलीले कम्युनिष्टको खोल ओढेर नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिमै राष्ट्रघाती र प्रतिगमनकारी व्यक्तिको रुपमा स्थापित भएको आरोप नेकपा हुँदा नै लागिसकेको छ । एकपटक ओलीको विगतसँगै केही बर्ष पहिलेको घटनाक्रमलाई हेरौं ।
ओलीले २०७४ मा स्थानीय तह निर्वाचनमा गरेको एउटा भाषण
रुकुम र रोल्पाबाट तत्कालीन एमालेले नराम्रो पराजय भोगेपछि अध्यक्ष केपी शर्मा ओलीले रुकुम र रोल्पामा लोकतन्त्र र गणतन्त्र नआएको बताएका थिए । तर लोकतन्त्र र गणतन्त्रको लागि हतियार उठाउने रोल्पाली र रुकुमेली जनतालाई लोकतन्त्र र गणतन्त्र के हो भन्ने नै थाहा छैन भन्नु ओलीको राजनैतिक चेतना कतिसम्म तल्लो स्तरको रहेछ भन्ने स्पष्ट हुन्छ । आफुले जित्दा लोकतन्त्र र गणतन्त्र आउने अरुले जित्दा निरंकुश हुने यो ओलीको राजनीतिक चरित्र हो । ओलीले त्यसबेला भने, रोल्पाली र रुकुमेली आतंकको छायामा बाँचेका छन् ।
नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका जानु हो ।स्मरण होस्, कुनै समय उनै ओलीले भनेका थिए, ‘नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका जानु हो ।’ तर नेपालमा गणतन्त्र आयो । सायद गणतन्त्र आउनुमा उनको भूमिका हुन्थ्यो भने उनले त्यो बोल्ने थिएनन् र उनी एमालेको नेतृत्व तहमा थिए भने गणतन्त्र मान्ने समेत थिएनन् भन्ने कुरा उनको पटक–पटकको अभिव्यक्तिबाट पनि स्पष्ट हुन्छ ।
तत्कालीन नेकपा एमाले
तत्कालीन नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पाँच विकास क्षेत्रलाई सङ्घीयताको उत्तम विकल्प भनेका थिए । उनको यो भनाई सङ्घीयतालाई अझै कमजोर बनाउनेतर्फ उद्दत थियो । यसरी ओलीले सङ्घीयताको गलत परिभाषा लगाएर जनतालाई पटक–पटक भ्रम छर्दै आएका थिए । सङ्घीयताले देश टुक्र्याउँदै छ भनेर अफवाह फैलाउँदै थिए । जाति–जाति र समुदाय–समुदायबीच झगडा पैदा गर्ने गरी सङ्घीयताको व्याख्या गर्दै आएका थिए । बाध्य भएर एमालेले सङ्घीयता स्वीकार गरेको बताएका थिए ।
नेपाली काँग्रेस
नेपाली काँग्रेसका नेता खुमबहादुर खड्का (हाल निधन भैसकेको) ले पूर्वराजा ज्ञानेन्द्रलाई भेटे । जनताले मिल्काइसकेका तत्कालीन एउटा शक्तिकेन्द्रलाई भेटेर खुमबहादुरले नेपाली जनतालाई एउटा च्यालेन्ज गरेका थिए । नेपाली काँग्रेस हिन्दू धर्मको नाममा राजतन्त्रलाई पुनःस्थापित गर्न लालयित छ भन्ने कुरा उनको त्यतिबेलाको अभिव्यक्तिले पुष्टि गरेको थियो । उनको साथमा तत्कालीन महामन्त्री शशांक कोइरालासहित एक दर्जन नेताहरु रहेका थिए, जो हिजो पनि राजतन्त्रसँग नजिकको सम्बन्ध राख्दथे । तिनीहरु जनताभन्दा राजालाई प्यारो ठान्दथे ।
पूर्वराजा ज्ञानेन्द्रको त्यो चाल
दशैं तिहार र नयाँ वर्षजस्ता ऐतिहासिक अवसरमा मात्रै विज्ञप्ति जारी गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहले एउटा कडा प्रेस विज्ञप्ति जारी गरेका थिए । उनी भारत र चीनको भ्रमण गरेर आएका थिए । सिधै भारत र चीन गए शङ्का पैदा हुन्छ भनेर उनी थाइल्यान्ड र सिंगापुर हुँदै चीन गएका थिए । चीनमा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट र छलफल गरेको फोटोसमेत सार्वजनिकसमेत भएको थियो । त्यो भ्रमणपश्चात् आएको ज्ञानेन्द्रको विज्ञप्तिलाई हलुकासँग लिइएको थियो । वक्तव्यमा भनिएको थियो– नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको छ ।
आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदैछ भने तराई÷मधेश, पहाड र हिमालमाझको ऐक्यभाव तोड्ने भगिरथ प्रयत्न भइरहेको छ । पूर्वराजाको यो अभिव्यक्तिले तत्कालीन ५ नम्बर प्रदेशमा पहाड र तराईलाई अलग्याउन पाइँदैन भन्दै भइरहेको आन्दोलनलाई समर्थन गर्न खोजेजस्तो देखिन्थ्यो । जे होस् सङ्घीयताभित्र पूर्वराजा खेल्न खोजेको स्पष्ट देखिन्छ र उनी छिट्टै नै मुभ हुन सक्ने संकेत पनि देखिएको थियो ।
तत्कालीन प्रधानमन्त्री प्रचण्ड
तत्कालीन प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा बरिष्ठ लेखक र स्तम्भकारहरुसँग छलफलको आयोजना गरेका थिए । सो छलफलमा प्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रको मुभका विषयमा पनि कुरा उठाएका थिए । पूर्वराजा ज्ञानेन्द्रको बेइजिङ र दिल्ली अनि बैंकक यात्रा त्यत्तिकै नभएको र त्यसमा गणतन्त्र मास्ने योजना रहेको हुन सक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले सो भेटघाटमा चिन्ता व्यक्त गरेका थिए । छलफलको अन्तिममा प्रधानमन्त्री प्रचण्डले गणतन्त्रवादी शक्तिहरु सचेत नहुने हो र २०७४ माघ ७ भित्र तीनवटै चुनाव गरेर संविधानलाई कार्यान्वयनमा नलैजाने हो भने संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता धरापमा पर्न सक्ने निश्कर्ष सुनाएका थिए । प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीको आन्तरिक बैठकमा पनि ज्ञानेन्द्रको बेइजिङ यात्राको राजनीतिक अर्थ केलाउँदै सचेत हुनुपर्ने बताएका थिए ।
हालको घटनाक्रम
केही समयदेखि राजतन्त्रको पक्षमा सडकमा आवाज सुनिन थालेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा हुँदा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीका कारण सडकमा राजा आऊ देश बचाऊको नारा लागेको आरोपसमेत लगाएका थिए । तर केही दिन बित्न नपाउँदै ओलीले संसद विघटन गरेपछि देउवाको त्यो आरोपलाई थप बल पु¥याएको थियो । नेकपा विभाजन हुनुले पनि थप शंका पैदा गरेको थियो । ओलीको विभिन्न शंकास्पद भेट र राजावादी आन्दोलनमा उनका समर्थक एवं सहयोगीहरु देखिनुले पनि थप पुष्टि गरेको थियो । अहिले निर्वाचनमा दुई गठबन्धन बन्ने अवस्था बनेको छ ।
निष्कर्ष
नेपाली जनताले आफ्नै गाउँ गाउँमा सेवा, सुविधा पाउने गरी अधिकारसम्पन्न स्थानीय तह पाएका छन् । यो अधिकार दश वर्षे महान् जनयुद्धको एक उपलब्धि पनि हो । हजारांै सहिदको रगतले प्राप्त यो उपलब्धि अहिले गुम्ने खतरा देखिन थालेको छ । माथिका केही पुराना राजनीतिक घटना, परिघटनालाई गहन ढंगले केलाउने हो भने पनि अब गणतन्त्रमा हमला हुने पक्का छ र त्यो दिन त्यति टाढा रहेको छैन । यसको मुख्य कारक भनेको केपी ओली नै हुन् । राप्रपा हिजोदेखि नै राजावादी प्रतिगमनकारी शक्ति भएकोले उसको बारेमा चर्चा गरिरहनु आवश्यक छैन । राप्रपाको पार्टी नीति नै राजतन्त्र रहेकोले उसको भूमिकाको बारेमा थप शंका लिइरहनु पर्दैन । हजारौं सहिदको रगतसँगै साटिएको ती उपलब्धिहरुको रक्षा अब गणतन्त्रवादीहरुले मात्र गर्न सक्छन् । माओवादी कमजोर भए ती उपलब्धिको रक्षा कसैले गर्न सक्दैन । त्यसैले प्राप्त उपलब्धिको रक्षा र समग्र देश विकासको लागि यो निर्वाचनमा एकपटक माओवादीलाई अवसर दिइनुपर्दछ । विगतलाई सम्झेर होइन भविष्यलाई हेरेर माओवादीलाई मतदान गरौं ।