पालुङटार- नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सम्मानजनक ढङ्गबाट गठबन्धन नभए पार्टी एक्लै चुनावमा बताएका हुन्।
पालुङटार नगरपालिकामा मंगलबार आयोजित पार्टीको गोरखा, लमजुङ र मनाङको चुनावी कमाण्डको प्रशिक्षणमा नेता श्रेष्ठले सम्मानजनक ढङ्गबाट गठबन्धन नभए पार्टी एक्लै चुनावमा जाने बताएका हुन्।
नेता श्रेष्ठले गठबन्धन बनाएर निर्वाचनमा जाँदा गठबन्धनमा रहेका सबै दलको हित हुने गरी सहमति भए मात्र गठबन्धन स्वीकार्य हुने समेत बताए।
‘हाम्रो पार्टीको प्राथामिकता गठबन्धनका लागि गठबन्धन मात्र होइन, ‘उनले भने ‘गठबन्धन बनाएर निर्वाचनमा होमिएपछि सहमतिको अक्षरशः पालना हुने गरी मात्र हुनुपर्छ ।’
पार्टीले आन्तरिक एकतालाई सुदृढ पारेर निर्वाचनमा होमिनुपर्ने श्रेष्ठको भनाइ छ। पार्टीले अबलम्वन गरेको समाजवादको लक्ष्य हासिल गर्नका लागि सडक, सदन र सरकारमा सङ्घर्षको रणनीति लिएर पार्टी अघि बढिरहेको उनले उल्लेख गरे।
‘अहिलेको स्थानीय तहको निर्वाचन भने स्थानीय सदनको मोर्चामा जाने तयारी हो,’ उनले भने, ‘यो मोर्चा नजिते हामीले हाम्रो लक्ष्य हासिल गर्न सक्दैनौँ।’
नेता श्रेष्ठले माओवादी केन्द्रले जितेका देशभरका स्थानीय तहहरुमा राम्रो काम भएको बताउँदै त्यसबारेमा जनतालाई बुझाउन सक्नुपर्नेमा जोड दिए।