काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली गठबन्धनको तेज देखेर बेहोसी अवस्थामा बर्बराउन थालेको आरोप लगाएका छन् ।
उनले गठबन्धनको तेज देखेर ओली बेहोस अवस्थामा बर्बराइरहेको आरोप लगाएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्रतिगामी प्रवृत्तिलाई पराजित गर्न, संविधान र अर्थतन्त्रको रक्षा एवं समाजवादलाई साकार पार्न पाँच दलीय गठबन्धन भएको बताए ।
उनले भने, ‘अर्को पक्षले प्रतिगामी शक्तिहरूसँग साँठगाँठ गरिरहेको छ, संविधान विरोधी तत्वहरु, यथास्थितिवादी तत्वहरुसँग साँठगाँठ गरिरहेको छ ।’ अगामी निर्वाचनमा देशभरका ११ उपमहानगरमध्ये नेकपा एकीकृत समाजवादले तीनवटा उपमहानगरमा दावी गर्ने अध्यक्ष नेपालले जनाएका छन् ।
भरतपुर महानगरको उम्मेदवारको हकमा कांग्रेस र माओवादी केन्द्रबीच देखिएको विवादलाई छलफलको माध्यमबाट टुंगो लगाइने उनले बताए । काँग्रेसभित्र २ वटा विचार भए पनि निर्वाचनमा सिटको तालमेल मिलाएर जाने विषयमा निर्णय भइसकेको जनाएका छन् ।
‘चुनावमा जमानत जफत हुनेले पनि सानदाररुपमा म अत्यधिक मतले विजयी हुन्छु भन्छ, मैले देखिसकेको भोगिसकेको कुरा हो’ उनले भने ‘जिल्लामा सबै पार्टीको आ–आफ्नो शक्तिको आकलन हुन थालेको छ, कसैले धेरै दावा गर्न थालेका छन् कसैले अलि लचकता देखाउन थालेका छन् ।’