काठमाडौ- नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेस भरसक एक्लै लड्नुपर्ने बताएका छन् ।
कांग्रेसनिकट नेविसंघ ईलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कोइरालाले भने- म त कांग्रेस एक्लै चुनावमा जानुपर्छ भन्ने पक्षमा छु । तर मैले हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाजीलाई भन्दाखेरि उहाँले यौटा राम्रो प्रश्न उठाउनुभयो । उहाँले माओवादी जसको भविष्य नै छैन । धेरै माओवादीका साथीहरू अहिले एमालेमा प्रवेश गरिसक्या छन् । जुन बचेका साथीहरू उनीहरूको अस्तित्व नै नभएपछि उनीहरू कहीँ न कहीँ त सम्बन्ध गाँस्नै पर्छ भन्नुभयो ।
कांग्रेसले सम्बन्ध गाँसेन भने उनीहरूपनि एमालेकहाँ जान सक्ने खतरा रहेको उनले बताए ।
त्यही कारण फेरी कांग्रेसलाई खतरा हुनसक्ने जोखिम रहेको बताउँदै उनले भने, ‘एमाले र माओवादी मिले भने पूर्व चुनाउमा नतिजा हाम्रो २३ सिटमा मात्र झर्याथ्यौँ । त्यस्तै होला‘की भन्ने उहाँको (देउवा) चिन्ता थ्यो । जुन स्वाभाविक चिन्ता म पनि स्विकार्छु ।’
कोइरालाले ‘अफ द रेकर्ड’ भनेको भए पनि प्रत्यक्ष प्रशारण भइरहेको सो कार्यक्रमा उनले भने- ‘पहिलो चुनावमा मेरो खर्च ८० हजार रुपैयाँ थियो। दोस्रो चुनावमा तीन करोड र लास्ट चुनावमा ६ करोड। ल भन्नुस् त तपाईंहरु कोही चुनाव लड्न चाहनुहुन्छ, मेरो क्षेत्रबाट? म छोड्न तयार छु। तपाईंहरुले कम्तीमा ६/७ करोड त्यहाँ (खर्च) गर्नुपर्छ।’
नवलपरासीबाट निर्वाचित उनले चुनावमा त खर्च घट्नुपर्ने बताए। ‘पहिलो चुनावमा ८० हजार खर्च भयो। किनभने म मान्छेलाई चिन्दै चिन्दैनथेँ। नौलो ठाउँ थियो। सात वटा गाविस थियो। पहाडमा मलाई उठाएर लिएर गएका छन्। चिनिसकेपछि मूल्य (खर्च) त घट्नुपर्यो नि।’