काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले आसन्न स्थानीय तह निर्वाचनमा हाल नगरपालिकाका उपमेयर र गाउँपालिका उपाध्यक्ष रहेका महिलालाई मेयर र अध्यक्ष पदमा प्राथमिकता दिने भएको छ।
पार्टीका नेता वर्षमान पुन अनन्तले समावेशीकरणको सिद्धान्तअनुसार महिलाहरुलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिन लागिएको बताए ।
उपमेयर र उपाध्यक्ष चलाएका महिलालाई मेयर र अध्यक्षमा टिकट दिनुपर्छ भन्ने माग र सुझाव आएपछि त्यसमा पार्टी नेतृत्व सकारात्मक रहेको उनले बताए।
पुनले सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्दा स्थानीय तहमा दुईमध्ये एक प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने संविधानको प्रावधान कार्यान्वयन नहुने आशंका बढेको भन्दै त्यसमा सचेत रहेको बताए।
‘गठबन्धन गर्दा एउटा पार्टीको एक मात्रै उम्मेदवार हुने अवस्थामा सबैतिर पुरुष आउने चिन्ता छ’, स्थानीय तह निर्वाचनमा महिला सहभागिता बढाउनुपर्ने मागसहित पेरिसडाँडा पुगेका महिला अधिकारकर्मीसँग मंगलबार पुनले भने, ‘त्यसलाई हामी ब्यालेन्स गर्छौं, म आफैं गठबन्धनको संयन्त्रमा छु। गठबन्धनका कारण महिला सहभागिता कम हुन दिँदैनौँ।’
नेता पुनले संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला अनिवार्य गरेको भन्दै आफ्नो दलले त्यसलाई बढाएर कम्तिमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने नीति लिएको बताए
सबै तहका पार्टी कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गरिएको भन्दै उनले सोही दरमा स्थानीय तहमा पनि महिलालाई नेतृत्व दिइने उल्लेख गरे ।