काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी आन्दोलनलाई अघि बढाउन नेकपा एमालेसँग एकता प्रस्ताव आफैंले लगेको बताएका छन्।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘आन्दोलनलाई बचाउने र यसलाई परिवर्तनको बाहक बनाउन कम्युनिष्ट आन्दोलनलाई एक ठाउँ लैजान मेरो नै प्रस्तावमा एमालेसँग एकता भएको थियो’, उनले भने, ‘तर एकता कतिबेला त्यो दुर्घटनामा पर्यो म व्याख्या गर्दिनँ। एमालेको ठूलो तप्का माओवादी आन्दोलन स्वीकार्ने पक्षमा गएको थियो। माओवादीले नै देशमा जागरण ल्याएको हो। संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीकै कारण आएको भन्ने भइसकेको थियो।’
उनले एमालेसँग एकतापछि बनेको नेकपाको दोस्रो बैठकमा तत्कालीन एमालेका अधिकांश नेताहरु आफ्नो पक्षमा आएपछि षड्यन्त्र सुरु भएको बताएका छन्।
‘मेरै अध्यक्षतामा नेकपाको दोस्रो बैठकमा एमालेका नेताहरुले पनि अबको हाम्रो नेतृत्व प्रचण्ड नै हो भन्नेमा पुगेपछि षड्यन्त्र सुरु भएको हो’, उनले भने, ‘एमाले नेताहरुले अहिले भन्ने गर्छन् नि, केही समय रोकेको भए त प्रचण्डले पार्टी खाइसक्थ्यो।’
उनले आफूहरु समाजवादी क्रान्तिको यात्रामा रहेको पनि बताएका छन्। ‘हामी समाजवादी क्रान्तिमा छौँ । लेनिनले भने जस्तो एकता, क्रान्ति, विभाजन हुँदै समाजवादमा पुगिने हो’, उनले भने, ‘घण्टी मात्रै बजाएर क्रान्ति हुँदैन, बांगोटिंगो बाटो नै हिँड्नुपर्छ।’
उनले एमालेसँग एकता गरेर नेकपा बनाएपछि माओवादीमा विभाजन नआएको भए आफूहरुको हैसियत त्यहाँ ६० प्रतिशत हुने पनि बताए। ‘हामीले एकता गर्दा माओवादी नफुटेको भए सायद हाम्रो ६० प्रतिशत र एमालेको ४० प्रतिशत हुँदा पार्टी पनि हाम्रै हुन्थ्यो, नेकपा पनि फुट्दैनथ्यो।’
यदि त्यसो भएको भए साँच्चिकै समाजवादी क्रान्तिमा जान सहज हुने पनि उनले बताए। ‘अनि साँच्चिकै समाजवादतिर जान्थ्यौँ हामी। एमालेभित्र तीन वर्ष हामीले हेर्यौँ। त्यहाँका ८० प्रतिशत इमान्दार छन्। नेतृत्वले उनीहरुलाई बन्दी बनाएर राखेको छ’, उनले भने, ‘हामीले तिनलाई पनि मुक्त गर्नुपर्छ। तिनको पनि हामीले नेतृत्व गर्नुछ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै त्यहाँका प्रतिक्रान्तिकारी र प्रतिगामीहरुसँग पनि वैचारिक संघर्ष जारी रहने बताए। ‘माओवादीमा एकता र ध्रुवीकरण चलिरहन्छ। यो एकता र ध्रुवीकरणले शक्ति पैदा हुन्छ’, उनले भने, ‘प्रमाणित भएको कुरालाई भन्न हिचकिच्याउनु पर्दैन।’