काठमाडौं– सत्तारुढ गठबन्धनका दुई दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।
तीन नेताबीच आइतबार माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो। नेताहरुबीच स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको जनाइएको छ।
नेताहरुबीच आइतबार बिहान ११:४५ देखि १२:२० सम्म सामुहिक रुपमा छलफल भएको थियो। छलफलपछि नेताहरु सिंहदरवारबाट सँग–सँगै बाहिरिएका थिए। भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए।
गठबन्धनको सदस्य दल जनता समाजवादी पार्टीले आफूहरुलाई अपमान गरेको भन्दै देशभर अलग्गै चुनावी तयारी थालेको छ। पछिल्ला दिन चितवनको भरतपुर महानगरपालिका, कञ्चनपुर जिल्लामा कांग्रेसका नेताहरुले नै गठबन्धन स्वीकार्न नसकिने भन्दै विज्ञप्ति जारी गरेपछि गठबन्धनका शीर्ष नेतृत्वबीच अलग-अलग छलफल भएको हो।