काठमाडौँ- नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा कार्यशाला आयोजना गरेको छ।
ललितपुरकाे भिभान्ता होटलमा आयोजना गरिएको उक्त कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्रस्तुतकर्ताको रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए।
ला इस्ला नेटवर्क एउटा अनुसन्धान र परामर्श संस्था हो जसले विश्वभर रहेका कामदार तथा तिनिहरुको समाजमा हुनसक्ने तापक्रम सम्बन्धी रोगहरु जस्तै परम्परागत बाहेकका पुराना मिर्गौला रोगहरुको रोकथाम गरी समाजबाट मिर्गौला रोग निर्मुल पार्न काम गरिरहेको छ।
जलवायु परिवर्तनको समयमा यो संस्थाले कामदारको स्वास्थ्यलाई सम्बोधन गर्न प्रमाणमा आधारित समाधानहरूको विकास तथा कार्यान्वयन गर्दै आइरहेको छ।
प्रवासी कामदार र विप्रेषण नेपाली अर्थव्यवस्थाको निकै महत्वपूर्ण भाग रहेको छ। बैंकका अनुसार यिनै विषयलाई मध्यनजर राखी नबिल बैंकद्वारा सञ्चालन गरिएको यो कार्यशाला नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो कार्यशाला हो।
नबिल बैंकले दिगो विकासका पहलहरूलाई समर्थन तथा कार्यन्वयन गर्दै आइरहेको छ र यो कार्यशाला पनि समाजमा दिगो विकासको लागि महत्वपूर्ण रहने विश्वास गरिएको छ।
कार्यक्रमलाई नेपाली मुद्रा विप्रेषक संघको सहयोगमा सञ्चालन गरिएको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वैदेशिक रोजगार विभाग, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय, प्रवासी नेपाली समन्वय समिती तथा विदेशी कूटनीतिक संघ संस्थाहरु लगायतका श्रम मामिलामा आवद्ध विभिन्न संघ संस्थाहरूका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यशालाको बारेमा बोल्दै नबिल बैंकका अध्यक्ष, उपेन्द्र प्रसाद पौडेलले ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसनले गरेको अनुसन्धान तथा विभिन्न कामहरू नेपाली प्रवासी कामदारको लागि निकै महत्वपूर्ण रहेको र यो अनुसन्धानको निष्कर्ष र समाधानहरूले जलवायु परिवर्तनका कारण नेपाली प्रवासी कामदारहरुको स्वास्थ्यमा पर्न जाने असरलाई समयमै पहिचान गरी सो को आवश्यक समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
कार्यशालाको दौरान जेसनले बढ्दै गएको तापक्रमको कारण धेरै स्वास्थ्य समस्या थपिँदै गएको र प्रवासी कामदारहरूमा जलवायु परिवर्तनले पार्न गएको असर सम्बन्धमा सहभागीहरूको ध्यानाकर्षण गराउनु भएको थियो गराएका थिए। बढ्दो तापक्रम र गर्मीका कारण मिर्गौलामा आउन सक्ने समस्या जलवायु परिवर्तनका कारण सिर्जना भएको पहिलो माहामारी हुन सक्ने समेत बताए।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले जलवायु परिवर्तनको प्रभाव सबै जिवित जीवहरूमा उच्च मात्रामा देखिन थालेता पनि यसलाई कम गर्ने तर्फ सामान्य ध्यान केन्द्रित गर्न सके पनि केही हदसम्म न्यूनीकरण गर्न सकिने बताउँदै यसका लागि प्रवासी कामदारहरूमा चेतना फैलाउनु निकै महत्वपूर्ण रहेको र यस सम्बन्धमा उचित सहयोग गर्न नबिल बैंक सधै तत्पर रहेको बताए।