काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम घट्टराईले स्थानीय तहको निर्वाचन लोकतन्त्रलाई गाउँ टोलसम्म पुर्याउने अभियान भएको बताएका छन्।
आइतबार पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले भने- ‘स्थानीय निर्वाचन ३५ हजार जनप्रतिनिधि निर्वाचित भएर लोकतन्त्रलाई गाउँ, वडा र टोलसम्म पुर्याउने एउटा अभियान हो। त्यसैले यो निर्वाचनमा हाम्रो पार्टीको विचारमा प्रदेश र संघको निर्वाचनभन्दा पनि बढी महत्त्वपूर्ण छ।’
भर्खरै लोकतन्त्रउन्मुख भएको देशमा लोकतन्त्र जति तलसम्म पुग्छ, जति सही ढंगले तल अभ्यास हेन, त्यति नै लोकतन्त्र बलियो हुने उनको भनाइ छ। ‘लोकतन्त्रको जगमा मात्रै विकास र समृद्धि हुन्छ। त्यसको जगमा मात्रै उन्नत र सुसंस्कृत समाज विकास हुन्छ’, उनले भने।
उनले आफूहरुले घोषणापत्रमा भ्युटावरको कुरा नगरेको बताए। शिक्षा र स्वास्थ्य कसरी सर्वसुलभ बनाउने, नि:शुल्क बनाउने, गुणस्तर बनाउने र घरघरमा पुर्याउने भन्ने जस्ता प्राथमिकता आफूहरुको रहेको उनको भनाइ छ।
भट्टराईले डोजरे विकास भनेर जतासुकै भत्काउँदै हिँड्ने प्रवृत्तिलाई पनि आफूहरुले नयाँ ढंगले लैजाने बताए। त्यसप्रति उनले प्रतिबद्धता व्यक्त गरे। ‘लोकतन्त्रलाई घर दैलोमा पुर्याउने र विकास पनि माथिबाट लाद्ने होइन, तलबाटै ल्याउने हाम्रो मुख्य प्रतिबद्धता छ। हाम्रा प्रतिबद्धता विशिष्ट र नवीन छ’, उनले भने।