गाेरखा- नेपाली कांग्रेसले गोरखा नगरपालिकाको मेयरमा विश्वदेव श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आइतबार रातीबाट सुरु भएर सोमबार बिहानसम्म बसेको बैठकले यस्तो निर्णय गरेको हो । ११ स्थानीय तह रहेको गोरखाका केहि स्थानीय तहमा पुरानै अनुहारका दोहरीएका छन् भने केहीमा नयाँले अवसर पाएका छन् ।
कांग्रेस गोरखाका अनुसार गोरखा नगरपालिकाको मेयरमा यसअघिका मेयर राजनराज पन्तको सहमति नजिक पुगेको थियो । तर, कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका महामन्त्री किरणबाबु श्रेष्ठ निकटका श्रेष्ठले टिकट पाउन सफल भएका हुन् । उममेयरमा भने नयाँ मसलीमाया ठोकर सपना पुनले टिकट पाएकी छिन् ।
पालुङटारको मेयरमा दीपकबाबु कंडेल, उपमेरमा चेतकुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । मेयरमा कंडेलले दोहोराएका हुन् भने उममेयरको उम्मेदवार श्रेष्ठ २०७४ को निर्वाचनमा माओवादी केन्द्रकी उम्मेदवार पम्फा बसेलसंग पराजित भएकी थिइन् ।
सिरानचोक गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र गुरूङ र उपाध्यक्षमा रिता देवकोटालाई उम्मेदवार बनाएको छ । अजिरकोटको अध्यक्षमा गोविन्द्र गुरूङ, उपाध्यक्षमा इन्द्रा गुरूङल, बारपाक–सुलिकोटको अध्यक्षमा जितबहादुर घले र उपाध्यक्षमा जानुका सापकोटालाई कांग्रेस गोरखाले उम्मेदवार बनाएको हाे ।
भिमसेन थापा गाउँपालिकाको अध्यक्षमा रोसन गुरूङ, उपाध्यक्षमा अमृता वस्ती, आरूघाट गाउँपालिकाको अध्यक्षमा राजु गुरूङ, उपाध्यक्षमा कल्पना नेपाली, धार्चेको अध्यक्षमा सन्तोष गुरूङ, उपाध्यक्षमा फुलमाया गुरूङ र चुमनुव्री गाउँपालिकाको अध्यक्षमा धनबहादुर गुरूङ र गण्डकी गाउँपालिकाको अध्यक्षमा होमबहादुर राना र उपाध्यक्षमा ललिता अधिकारीलाई उम्मेदवार बनाएको हो । आरूघाटका अध्यक्ष गुरूङबाहेक अरू पूराना अनुहार हुन् । उनीहरूले फेरि दोहिरिएका हुन् ।
सहिद लखन गाउँपालिकाको अध्यक्षमा नारायण लामिछानेलाई उम्मेदवार बनाएको छ भने उपाध्यक्षमा टुङ्गिन बाँकि छ ।
पार्टी कार्यालयमा तालावन्दी
कांग्रेस पार्टी कार्यालयमा कार्यकर्ताले तालाबन्दी गरेका छन् ।
कार्यकर्ताको भावनाविपरीत आफूनिकटलाई उम्मेदवारको टिकट वितरण भएको विरोधमा पार्टी कार्यालयमा तालाबन्दी गर्नु परेको असन्तुष्ट एक नेताले जानकारी दिए।
गाेरखामा सत्ता गठबन्धन फुटेर कांग्रेस एक्लै चुनाव लड्दै छ।