गोरखा– सिरानचोक गाउपालिका–८, जौबारीकी मिरा उपरकोटिले २२ वर्षको उमेरमै वडा सदस्यमा उम्मेदवारी दिएकी छन् ।
सानैदेखि राजनीतिप्रति चासो राख्न थालेकी उनले सोमबार नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा उम्मेदवारी दिएकी हुन् । गोरखाका ११ वटा पालिकामा मनोनयन दर्ता गराएकाहरूमा उनी नै सबैभन्दा कान्छी उम्मेदवार हुन् ।
आफै पनि गाउँमा हेपिएको र पिछडिएको समुदायकी युवती भएकाले त्यहि समुदायका लागि केही गर्न सक्छु भन्ने लागेर उम्मेदवारी गरेको बताइन् । युवाहरुको राजनीतिमा सक्रियता, जोश र जाँगरले मात्रै समाजको विकासमा गतिशिलता आउने भन्दै उनले स्थानीय तहमा बिशेष गरेर युवाहरु नै जनप्रतिनिधिको रुपमा आउनुपर्ने आफ्नो मान्यता रहेको सुनाउँछिन् ।
उनको उम्मेद्वारीमा समाजमा रहेका अशिक्षित महिलालाई शिक्षाको पहुचमा पुर्याउने, आफ्नै ठाउँमा स्वरोजगार बन्न सक्ने बातावरण सृजना गर्ने जातिय छुवाछुतको अन्त्य, बलात्कारी र समाजमा भएको बिंसगतिको भण्डाफोर गर्ने उनको उदेश्य रहेको छ । स्थानीय तहमा युवाको भूमिका महत्वपूर्ण रहने उनको भनाई छ ।
वडाध्यक्षमा दिपक श्रेष्ठका साथमा सदस्यमा प्रेम गुरुङ, सुक बहादुर थापा, बृहस्पति बिकले उम्मेदवारी दर्ता गराएका छन् ।
माओवादीको भातृ संगठन अखिल क्रान्तिकारी महिला संघ भरतपुर महानगरको महिला सदस्य र वाइसिएल महानगर सदस्य समेत रहेकी उनी युवा माझमा परिचित अनुहार हो । युवालाई प्राथमिकता दिने पार्टीको नीति अनुसार नै मीराले उम्मेदवारी दिएको बताए ।