गोरखा– आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका ११ स्थानीय तहको नेतृत्वमा महिला संख्या देख्न मुस्किल हुने भएको छ । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा महिला प्रायः उपप्रमुखमै सिमित भएका थिए ।
२०७४ को स्थानीय तहमा पालिका उपप्रमुखमा विजयी भएका महिला उपप्रमुखहरू यसपटकको निर्वाचनमा नेतृत्वमा पुग्न चाहान्थे, तर पार्टीभित्रको आन्तरिक किचलोका कारण उम्मेदवार बन्न सकेनन्। गोरखा नगरपालिकाकी उपमेयर विनाकुमारी श्रेष्ठ गोरखा नगरको नेतृत्व लिन चाहान्थिन् । तर उनलाई पार्टीले टिकट दिएन ।
विद्यार्थी राजनीति हुदैं कांग्रेसको राजनीतिमा सक्रिय शोभा अधिकारीसमेत गोरखा नगरको नेतृत्व गर्न इच्छुक थिईन । माओवादी केन्द्रबाट पालुङटार नगरको मेयरमा हालकी उपमेयर पम्फा बसेल इच्छुक थिईन । अजिकोट, गण्डकी, सहिद लखनलगायतका स्थानीय तहका उपप्रमुख नेतृत्वमा पुग्न चाहान्थे । नेतृत्व गर्न आँकाक्षी भएपनि पार्टीले पुरुषलाई उम्मेदवार बनाएको छ । सम्भवत : गोरखाका सबै स्थानीय तहमा यसपटक पनि पुरुष उम्मेदवारको नै बलियो उपस्थिति हुने सम्भावना देखिन्छ ।
५ वर्ष उपप्रमुख भएर आफ्नो क्षमता प्रदर्शन गरेका थुप्रै महिलाले नेतृत्वमा आकांक्षा देखाएका थिए। धेरैले नेतृत्वका लागि दाबी समेत गरेका थिए। अघिल्लो निर्वाचनमा उपप्रमुख बनेर अनुभव सँगालेका महिला पनि पुनः उपप्रमुखमै दोहोरिन बाध्य भएका छन्।
सबै राजनीतिक संगठनको अधिकांश कमिटीबाट अधिकांश पालिकामा महिला आकांक्षी देखिएपनि थोरैले मात्रै टिकट पाए । प्रमुखमा उम्मेदवारी दर्ता गराएका महिलाले पनि जित्ने सम्भावना कम देखिएको छ । दलमा टिकट दिने ठाउँमा पुरुष हुने र महिलाले अनौपचारिक रुपमा भेटघाट गर्न नसक्ने भएकाले पनि आकांक्षी धेरै महिलाले टिकट नपाएको धेरैको गुनासो छ ।
प्रमुख वा अध्यक्ष पदमा जान सक्ने उपप्रमुख वा उपाध्यक्ष भइसकेका महिलाहरूले पनि आफ्नो आवाजलाई बुलन्द बनाउन सकेनन् । परिणाम स्वरुप धेरै महिला उपप्रमुखमै दोहोरिन बाध्य भए । आगामी निर्वाचनमा पनि नेतृत्वमा पुरुषकै हालीमुहाली देखिने पक्कापक्की छ ।
टुट्यो गठबन्धन
जिल्लामा सत्तारुढ चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीवीच गठबन्धन टुट्योे । जिल्ला संयन्त्रको करिब आठ पटक बसेको बैठकले ठोस निर्णय लिन नसकेपछि दलहरु एक्लाएक्लै निर्वाचन जाने भन्दै बैशाख १० गते गठबन्धन टुटेको हो ।
त्यसको केहि समयपछि कांग्रेस र माओवादी केन्द्रवीच गठबन्धन गर्ने ड्राफ तयार भयो । ड्राफलाई अन्तिमरुप दिन भन्दै साँझ अबेरसम्म बसेको बैठकले कांग्रेसलाई सात पालिका र माओवादीलाई चार प्रमुख तथा उपप्रमुख दिने गरि ड्राफ तयार भयो । यो ड्राफ सार्वजनिक भएपछि सत्तारुढ दलका केन्द्रीय नेताहरूले हस्तक्षेप गरे ।
जिल्ला स्तरीय संयन्त्रको वैठकले भागवण्डा मिलाउन नसकेपछि केन्द्रीय नेताहरूले हस्तक्षेप गरेका थिए । जिल्ला संयन्त्रको वैठक विना निष्कर्ष टुङ्गिएपछि केन्द्रमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईवीच शनिबार राती बालुवाटारमा बसेको बैठकले जिल्लाको भागबण्डा मिलाउन हस्तक्षेप गरे । केन्द्रको निर्देशन अनुसार पालुङटार नगरपालिका र धार्चे गाउँपालिका जसपालाई, माओवादीलाई चार स्थानीय र कांग्रेसलाई सात स्थानीय तहमा गठबन्धन गरि जान निर्देशन दियो ।
गोरखा कांग्रेसले केन्द्रको निर्देशन लत्याउदैं गठबन्धन टुटेको र जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारी दिन जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले पत्रकार सम्मेलन गर्दै निर्देशन दिए ।
कुन स्थानीय तहमा कसले दर्ता गरे उम्मेदवारी
गोरखा नगरपालिकाको नेतृत्वमा नेकपा एमालेले केन्द्रीय सदस्य सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ । उपमेयरमा दिनेश तमुले उम्मेदवारी दिएका छन् । त्यस्तै कांग्रेसबाट मेयरमा वर्तमान मेयर राजनराज पन्त र उपमेयरमा मसलीमाया थोकर (सपना पुन) उम्मेदवार बनेका छन् । माओवादी केन्द्रबाट मेयरमा कृष्ण रानामगर र उपमेयरमा धना गुरुङ कोइराला उम्मेदवार बनेका छन् । जसर्पाबाट मेयरमा सञ्जु भट्ट नेपाली र उपमेयरमा नारायण खत्री उम्मेदवार बनेका छन् ।
पालुङटार नगरपालिकामा नेकपा एमालेबाट मेयरमा हरि भट्ट र उपमेयरमा पार्वती पाठक उम्मेदवार बनेका छन् । कांग्रेसबाट वर्तमान मेयर दीपकबाबु कँडेल र उपमेयरमा चेतकुमारी श्रेष्ठ उम्मेदवार बनेका छन् । माओवादी केन्द्रबाट मेयरमा विवश चिन्तन र उपमेयरमा बन्दना पाण्डे उम्मेदवार बनेका छन् । जसपाबाट मेयरमा प्रेमबहादुर गुरुङ र उपमेयरमा नारायणी अधिकारी उम्मेदवार बनेका छन् ।
अजिरकोट गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा दिपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल, कांग्रेसबाट अध्यक्षमा गाेबिन्द्र गुरूङ र उपाध्यक्षमा इन्द्रा गुरूङ र जसपाबाट अध्यक्षमा मिरा धिताल र उपाध्यक्षमा मन बहादुर तामाङ उम्मेदवार बनेका छन् ।
सिरानचाेक गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा नबराज पुडासैनी र उपाध्यक्षमा पूर्णकुमारी कंडेल, कांग्रेसबाट अध्यक्षमा ज्ञानेन्द्र गुरूङ र उपाध्यक्षमा हालकी उपाध्यक्ष रिता देवकाेटा, जसपाबाट अध्यक्षमा चित्र बहादुर गुरुङ र उपाध्यक्षमा शोभा सुनार उम्मेदवार बनेका छन् ।
बारपाक सुलिकाेट गाउँपालिकामा माओवादी केन्द्रबाट हालका अध्यक्ष बिष्णुप्रसाद भट्ट र उपाध्यक्षमा सनमया गुरूङ, कांग्रेसबाट जितबहादुर घले र उपाध्यक्षमा जानुका सापकाेटा, जसपाबाट अध्यक्षमा जीवन श्रेष्ठ र उपाध्यक्षमा पम्फा देवी थापा उम्मेदवार बनेका छन् ।
भिमसेन थापा गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा लोकप्रसाद बञ्जरा र उपाध्यक्ष जुनु श्रेष्ठ, कांग्रेसबाट रोसन गुरुङ र उपाध्यक्षमा अमृता वस्ती, जसपाबाट अध्यक्षमा मिलन न्यौपाने र उपाध्यक्षमा रोहित पाण्डे उम्मेदवार बनेका छन् ।
गण्डकी गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा दिपक तिमल्सिना र उपाध्यक्ष पार्वती गुरुङ, कांग्रेसबाट अध्यक्षमा होमबहादुर राना, उपाध्यक्ष ललिता अधिकारी, जसपाबाट अध्यक्षमा सानमाया आले र उपाध्यक्षमा भीम श्रेष्ठ उम्मेदवार बनेका छन् ।
माओवादी केन्द्रबाट आरुघाट गाउँपालिकामा ऋषि खनाल र पार्वती सापकोटा, जसपाबाट अध्यक्षमा राजेन्द्र पराजुली र उपाध्यक्षमा तृष्णा बराम, कांग्रेसबाट अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपालीले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले गण्डकीमा दाेहाेराएर उम्मेदवार बनाएकाे हाे ।
धार्चे गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा सन्तोष गुरुङ र फुलमाया गुरुङलाई दाेहाेराएर उम्मेदवार बनाएकाे छ । माओवादी केन्द्रबाट अध्यक्षमा लक्ष्मण गुरूङ र उपाध्यक्षमा सुनिला गुरूङ, जसपाबाट अध्यक्षमा बिस बहादुर गुरुङ र उपाध्यक्षमा सविता गुरुङ उम्मेदवार बनेका छन् ।
माओवादी केन्द्रबाट शहीदलखन गाउँपालिका अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारीले उम्मेदवारी दर्ता गराएका छन् । यी दुबै दोहोरिएका हुन् । कांग्रेसबाट नारायण लामिछाने र उपाध्यक्षमा सर्मिला श्रेष्ठ, जसपाबाट अध्यक्षमा कल्पना थापा र उपाध्यक्षमा मनोज श्रेष्ठ उम्मेदवारी दर्ता गराएका हुन् ।
चुमनुब्री गाउँपालिकामा कांग्रेसले अध्यक्षमा धनबहादुर गुरूङ दोहोरिएका छन् । उपाध्यक्षमा मेन्टोक छोकी लामा, माओवादी केन्द्रबाट अध्यक्षमा निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङ, जसपाबाट अध्यक्षमा गणेश कार्की र उपाध्यक्षमा पासाङ छेदुङ लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
तालमेलका लागी छलफलको ढोका खुल्ला रहेको बताउदै आएका उनीहरुले पालिका अनुसार बिभिन्न दलसँग चुनावी तालमेल गर्न सक्ने सम्भावना भने रहेको छ । गोरखामा १ हजार ९ सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।