गाेरखा- नेपाली कांग्रेस गोरखाले जिल्ला कार्यसमितिका सदस्य विश्वदेव श्रेष्ठमाथि भएको कुटपिटको घटनाप्रति खेद व्यक्त गरेको छ ।
पार्टी सभापति नन्दप्रसाद न्यौपानेले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गत बैशाख १२ गते गोरखा बजारमा श्रेष्ठमाथि केही उच्छृङ्खल ब्यक्तिहरुबाट सांघातिक हमला भएको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उक्त घटनाप्रति घोर भत्र्सना गर्दै नेता श्रेष्ठको स्वास्थ्यलाभको कामना विज्ञप्तिमा गरिएको छ ।
गण्डकी प्रदेश संसदीय समितिले गोरखा नगरपालिकाको मेयरको टिकट श्रेष्ठलाई दिएको थियो । तर गत १२ गते उम्मेद्वारी दर्ता गर्ने दिनमा असन्तुष्ट युवा कार्यकर्ताले उनीमाथि कुटपिट गरेका थिए । कांग्रेसकै असन्तुष्ट समुहले बैंकरोड स्थित एक फोटो स्टुडियोमा उनीमाथि हातपात गरेलगत्तै प्रदेशको निर्णय उल्टाउदै केन्द्रीय संसदीय समितिले मेयरका अर्का आकांक्षी राजनराज पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यस्तै कांग्रेस सभापति न्यौपानेले बुधबारै अर्को प्रेस विज्ञप्ति जारी गर्दै बागी उम्मेद्वारहरुलाई बैशाख १६ गतेभित्र उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएका छन् । तोकिएको मितिमा उम्मेद्वारी फिर्ता नलिएमा पार्टीको निर्वाचन निर्देशिका अनुसार सबै जिम्मेवारीबाट तत्कालै निलम्बन गरी कारवाहीको प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख छ ।