काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका केशव स्थापित अराजक अभिव्यक्तिका कारण पुनः विवादमा आएका छन्।
बिहीबार आयोजित एक कार्यक्रममा उनले आफूमाथि लागेको यौन दुराचारको आरोपबारे जिज्ञासा राख्नेमाथि अभद्र शैलीमा प्रस्तुत भएका थिए।
काठमाडौंको नेसनल कलेजमा आयोजित मेयर उम्मेदवारहरुसँगको अन्तरसंवाद कार्यक्रममा एक सहभागीले उनलाई स्थापित यसअघि मेयर भएका बेलामा दुई युवतीले लगाएको यौन दुर्व्यवहारको आरोपबारे जिज्ञासा राखेकी थिइन्। त्यसबाट स्थापित आक्रोशित भएका थिए।
उनले प्रश्नकर्ता युवतीलाई नै ‘तपाईंसँग के प्रमाण छ?’ भन्दै प्रश्न गरेका थिए। अझ अघि बढ्दै उनले भने- ‘यू आर नाइस लेडी, तर तपाईंको थुतुनो ठीक छैन।’
सार्वजनिक भएको भिडिओमा स्थापितले जवाफ दिँदै गर्दा आक्रोशित भएर सिटबाट उठेर बोलिरहेको देखिन्छ। उनलाई नरिसाउन आग्रह गर्नेहरुलाई उनले ‘केशव स्थापित त रिसको भाँडो हो, नरिसाउनु भन्न पाइन्छ?’ भन्दै प्रतिप्रश्न गरेका थिए।
उनले आफू ‘एग्रेसिभ’ मान्छे भएको र कराँते खेलेको पनि बताएका छन्।