काठमाडौँ- विराटनगरबाट तिर्थयात्री बोकेर गएको बस मुस्ताङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
मुस्ताङको वारागुङ गाउँपालिका १ कागबेनीमा ना ५ ख २१४९ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा स्थानीय एक महिलाको मृत्यु भएको हो। करिब ३८ वर्षीया मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
ग७ प ५७२ नम्बरको स्कुटरमा सवार महिलालाई ठक्कर दिएपछि बस पल्टिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किँदै गरेका यात्रु सवार बसले कागबेनी जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको मुस्ताङका सहायक सीडीओ तथा सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए।
घाइते यात्रुको मुस्ताङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइतेलाई थप उपचारको लागि बाहिर लैजाने तयारी भइरहेको ढकालले बताए।
दुर्घटनापछि बसका चालक ३२ वर्षीय सुदीप चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।