काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका लागि गठबन्धन सबैभन्दा बढी आवश्यक रहेको बताएका छन्। आइतबार पोखरामा आयोजित सत्ता गठबन्धनको सभामा सम्बोधन गर्दै उनले गठबन्धन बचाउनुपर्ने बताए।
‘गठबन्धन बनेपछि नेपाली कांग्रेसका मुख्यमन्त्री भएका छन्। सबै पार्टी सहभागी भएका छन्। कसैले अर्थमन्त्री पाएको छ। कसैले भौतिक पूर्वाधार पाएको छ। सबैले पाएको छ। त्यसैले कांग्रेसका लागि त गठबन्धन सबैभन्दा बढी आवश्यक छ,’ उनले भने।
देउवाले गठबन्धन बनेपछि कांग्रेस नेतृत्वमा सरकार बनेको बताउँदै सबैलाई मिलाएर बसेको बताए। कांग्रेसका नेताहरुले गठबन्धनप्रति शंका उपशंका गर्न नहुने उनको भनाइ छ।
‘प्रचण्डजीले, माधव नेपालजीले उदार भएर हामीलाई सहयोग गर्नुभएको छ। जसपाले सहयोग गरेको छ। उदार भएर हामीलाई सरकारमा ल्याएको छ। हाम्रो मुख्यमन्त्री बनाएको छ। मन्त्री बनाएको छ। कांग्रेसको त कर्तव्य हो, गठबन्धन सफल पार्ने,’ उनले भने।