अजिरकाेट– नेकपा माओवादी केन्द्र अजिरकोट गाउँपालिका गोरखाले संकल्प पत्र सार्वजनिक गरेको छ । ‘समाजवादी यात्रा, नयाँ थिति : जनताको पालिका, जनमुखी नीति’ भन्ने मूल नाराका साथ संकल्प पत्र सार्वजनिक गरेको हो ।
संकल्प पत्रमा शिक्षा तथा खेलकुद, स्वास्थ्य, पर्यटन, कृषि, सिँचाइ तथा भूमिसुधार, विद्युत् तथा ऊर्जा, सडक, भौतिक पूर्वाधार तथा सामाजिक विकास, श्रम तथा रोजगार, सामाजिक सुरक्षा, वातावरण संरक्षण तथा पहिरो नियन्त्रण, सूचना तथा सञ्चार प्रविधि, सार्वजनिक सेवा प्रवाह, सुशासन र पारदर्शिता, संस्कृति र पर्यटन, खेलकुद, बसाई सराई नियन्त्रण तथा व्यवस्थित ग्रामीण बसोबास र विविध पक्षलाई समेटेर संकल्प पत्र सार्वजनिक गरेको हो ।
सुशासन, पूर्वाधार विकास, गरिबी निवारण आफ्नो मुख्य योजना छ । संकल्प पत्रमा प्रविधिमैत्री प्रशासनिक काम र सेवाहरू आफ्ना एकीकृत कम्प्युटर सफ्टवेयर प्रणाली र मेरो अजिरकोट एप्स मार्फत ई–गर्चरनेन्स्को योजना रहेको अध्यक्ष पदका उम्मेदवार दीपक देवकोटा बताउँछन् ।
गाउँपालिका भित्र उपयुक्त स्थानमा एफ.एफ सञ्चालन गर्नेदेखि निश्चित समय विद्यार्थीकालाई फ्री-वाई फाइ, सरकारी कार्यालय, सार्वजनिक संस्था र टोल टोलमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गरिने संकल्प पत्रमा समेटिएको छ ।
सार्वजनिक सेवा प्रवाहमा सुशासन र पारदर्शिता अपनाउदैं वडा कार्यालय निर्माण, वडा कार्यालय तथा सार्वजनिक निकायहरूबाट प्रवाह हुने सेवालाई अत्याधुनिक, सर्वसुलभ र प्रविधियुक्त बनाउने लक्ष्य रहेको छ । कर्मचारीलाई जनतालाई सेवा दिन उत्तरदायी संयन्त्रको रूपमा विकास गर्दै उत्कृष्ट र जनमुखी कार्य सम्पादनको लागि अभिप्रेरित गरी सार्वजनिक सेवामा हुने अनियतता, ढिलासुस्ती निषेध गर्ने लक्ष्यसमेत छ ।
गाउँपालिकाको कार्यालयमा हेल्प डेस्क स्थापना गरी छिटो छरितो सेवा प्रवाह गर्ने, पाँच वटै वडामा घुम्ती तथा बैंकिङ्ग प्रणाली मार्फत सेवा विस्तार गरी सेवा प्रदान गर्ने, सबै वडामा कर तिर्न वडा कार्यालयबाट नै डिजिटल सेवा मार्फत भुक्तानीको प्रबन्ध मिलाउने संकल्प पत्रमा उल्लेख छ ।
सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई हालको झन्झटिलो र अव्यवहारिक नीतिलाई संशोधन गरी व्यवहारिक बनाउदैं टोल टोलमा पुगेर भत्ता वितरण गर्ने साथै पालिका स्तरीय सामाजिक सुरक्षा रणनीति बनाई कार्यान्वयन गर्ने लक्ष्य रहेको उल्लेख छ । हरेक वडामा हरित पार्क निर्माण गर्ने, पालिकाभरका सामुदीयक वनको संस्थागत विकास गर्दै जडीबुटीको पहिचान, संरक्षण, संकलन प्रशोधन र बिक्री प्रबन्धका लागि विशेष कार्यक्रम निर्माण गरिने लक्ष्य रहेको छ ।
वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई सीप र क्षमताका आधारमा स्वरोजगार बनाउने तथा उद्यमशीलताका लागि प्रोत्साहन गर्न उचित खालको कार्यक्रम लागु गर्ने, वैदेशिक रोजगारीमा गएका परिवारको अभिलेख संकलन गरी उनीहरूको पुँजी र सीपलाई स्थानीय आवश्यकता र विकास तथा सामाजिक कार्यक्रममा उपयोग गर्ने नीति छ ।
भूपू सैनिकको लगानी र सहभागितामा पालिकाभित्र नमुना कार्यक्रम, शैक्षिक सेवा आयोग, लोक सेवा आयोगको तयारी कक्षा पालिका भित्र नै गर्ने, देश तथा विदेशका सुरक्षा निकायमा जान च्याहाने युवाहरूका लागि पालिकाभित्र नै प्रशिक्षण तालिमको व्यवस्था गर्ने र वैदेशिक रोजगारी क्रमशः निरुत्साहित गर्दै लैजाने संकल्प पत्रमा उल्लेख छ ।
पालिका भित्रका सबै सडक पाँच वर्षभित्र कालोपत्रे गर्ने, अजिरकोटका हरेक वस्ति र टोलहरू जोड्ने कृषि र हरित सडक पुर्याउने, एकीकृत पालिका स्तरीय सडक सञ्जाल र राष्ट्रिय राजमार्गसँग जोडने गरी तल्लो क्षेत्रका वस्ति समेटेर बाहिरी चक्रपथ र माथिल्लो भेगलाई जोड्ने गरी भित्री चक्रपथ निर्माण गर्ने लक्षण छ ।
आगामी पाँच वर्षभित्र अजिरकोलाई पूर्ण साक्षर पालिका बनाउने, सामुदायिक सिकाई केन्द्रको स्तर उन्नति र क्षमता अभिबुद्धि गर्ने, आवश्यकता अनुसार घुम्ती सिकाई कार्यक्रम लागु गर्ने, पालिका स्तरीय एकीकृत सुविधा सम्पन्न नमुना प्राविधिक शिक्षा तथा सिप विकास प्रशिक्षण केन्द्र स्थापना गर्ने, पालिका स्तरीय शिक्षक तालिम केन्द्र सञ्चालन गर्ने, चौमासिक रूपमा भुक्तानी हुँदै आएको विद्यालयका शिक्षक तथा कर्मचारीको तलबलाई विद्यमान व्यवस्था संशोधन गरी मासिक भुक्तानी दिने, पालिका प्रमुखको संयोजकत्वमा सार्वजनिक विद्यालय निरीक्षण तथा अनुगमन इकाई बनाई नियमित विद्यालय निरीक्षण र अनुगमन गरी सार्वजनिक शिक्षाको स्तर बुद्धि गर्ने संकल्प पत्रमा उल्लेख छ ।