गोरखा- नेपाल पत्रकार महासंघले स्थानीय तह निर्वाचनको समाचार संकलनका क्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका कोषाध्यक्ष राजेन्द्र न्यौपानेलाई कुटपिट गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघ गण्डकी प्रदेश समितिका अनुसार गोरखा जिल्लाको शहीद लखन गाउँपालिका-१, बागेश्वरी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा शुक्रबार दिउँसो ४ः३० बजे समाचार संकलनका लागि पुगेका न्यौपानेलाई सोही गाउँपालिका १ नम्बरका वडा अध्यक्ष दीपकबहादुर केसी र समर्थकले मतदान स्थलको फोटो खिचेको निहुँमा निर्घात कुटपिट गरी घाइते बनाएका थिए।
घाइते पत्रकार न्यौपानेको गोरखा जिल्ला अस्पतालमा उपचार भएर घर गएका छन् ।
‘निर्वाचन र मतदानका विषयमा नागरिकलाई सुसूचित गर्ने उद्देश्यले सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको यो घटना प्रेसविरोधी काम हो’ महासंघले विज्ञप्ति निकालेर भनेको छ, ‘महासंघ प्रेसविरोधी यस्ता कार्यको कडा भर्त्सना गर्दछ।’
घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई निर्वाध र निर्भीक रूपमा काम गर्ने वातावरण निर्माण गर्न र घाइते पत्रकारको उपचारको व्यवस्था मिलाउन महासंघले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ।