गाेरखा- नेकपा माओवादीले २०५२ साल फागुन १ गते जनयुद्ध थालेपछि राज्य पक्षबाट मारिएर पहिलो शहीद घोषित दिलबहादुर रम्तेलकी आमा स्थानीय निर्वाचनमा पराजित भएकी छन्।
बारपाक सुलिकोट गाउँपालिका-८ मा दलित महिला वडा सदस्यकी उम्मेदवार सरिमाया रम्तेल पराजित भएकी हुन्। उनलाई माओवादीको तर्फबाट महिला वडा सदस्यमा उठाइएको थियो।
यो निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित माओवादीले २,४,५,६ र ७ वडा जितेको छ। उता कांग्रेसले भने
१,३ र ८ नम्बर वडामा जित निकालेको हो।
कांग्रेस, एमाले र माओवादीले करिब १४ घरधुरी रहेको सरिमायाको गाउँ सुलिकोट-८ जराङको दलित बस्तीबाटै दलित महिला वडा सदस्यमा उम्मेदवार उठाएका थिए। सरिमाया पराजित भएको वडा सदस्य पदमा कांग्रेसकी उम्मेदवार विजयी भएकी छन्।
माओवादीले जनयुद्ध थालेपछि २०५२ फागुन १४ गते प्रहरीले चलाएको गोली लागेर दिलबहादुर रम्तेलको मृत्यु भएको थियो। उनी जराङस्थित ब्रह्मचारिणी निम्न माध्यमिक विद्यालयका विद्यार्थी थिए। ११ वर्षीय उनी त्यसबेला कक्षा ४ मा पढ्दै थिए।
२०५२ फागुन १४ गते गोरखा ताकुकोट गाविसस्थित सूर्यज्योति माविका प्रधानाध्यापक वीरबहादुर गुरुङलाई गिरफ्तार गर्ने क्रममा कक्षा कोठामै प्रहरी पसेका थिए।
सूर्यज्योति माविका प्रधानाध्यापक गुरुङलाई गिरफ्तार गरेर प्रहरी टोली जराङतर्फ लागेको थियो। जराङस्थित ब्रह्मचारिणी निमाविका प्रधानाध्यापक गोविन्द देवकोटालाई पक्राउ गर्न खोज्दा जराङबासीले प्रतिरोध गरेका थिए। त्यसपछि प्रहरीले गोली चलाएको थियो।
हतियारसहितका प्रहरीले देवकोटालाई पक्रन लागेको देखेर विद्यार्थीसमेत प्रतिकारमा उत्रिएका थिए। त्यही क्रममा प्रहरीले गोली चलाउँदा रम्तेल मारिएका थिए।
प्रहरीले त्यसबेला दिलबहादुर रम्तेल र रामप्रसाद भट्टमाथि गोली हानेको थियो।